काठमाडौं । मदन–आश्रित स्मृति प्रतिष्ठानले आज च्यासलमा एक कार्यक्रम गर्यो । सो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेताहरूको नाममा खोलिएका प्रतिष्ठानहरू ठगी खाने भाँडो भएको आरोप लगाउनु भएको छ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्रीे ओलीले मदन भण्डारी फाउन्डेसनबारे टिकाटिप्पणी गर्नुभएको हो । उहाँले मदन भण्डारी फाउन्डेसन पार्टीले बनाएको नभएर अर्को ढंगले बनाइएको भन्दै कडा रुपमा टिप्पणी गर्नुभएको हो ।
मदन–आश्रित स्मृति प्रतिष्ठानको कार्यक्रमलाई च्यासलमा सम्बोधन गर्दै ओलीले कतिपय नेताका नामका प्रतिष्ठानहरू सामूहिक हुनुपर्ने भन्दै कतिपय प्रतिष्ठान पछि गएर व्यक्तिको कब्जामा जाने गरेको पनि जिकिर गर्नुभयो । अध्यक्ष ओलीले मदन भण्डारी फाउन्डेसनका पदाधिकारीको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउनुभएको छ । ‘कम्युनिस्ट पाठशाला कि के भनेर बनाएको छ एउटा । त्यो व्यक्तिको हो कि परिवारको हो कि ? आन्दोलनको नाममा काम गर्छ कि ठगी खाने भाँडो’, अध्यक्ष ओलीको आरोप छ ।
मदन भण्डारी फाउन्डेसन पार्टीले बनाएको नभएर अर्को ढंगले बनाइएको अध्यक्ष ओली बताउनुहुन्छ । अध्यक्ष ओलीले आगामी दिनमा मदन भण्डारी फाउन्डेसन कसरी जान्छ भन्ने हेर्नुपर्ने भन्दै यसबारे अन्योल रहेको बताउनुहुन्छ । मदन भण्डारी फाउन्डेसनको संरक्षक पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी हुनुहुन्छ भने अध्यक्ष उहाँकी छोरी उषाकिरण भण्डारी हुनुहुन्छ ।
अध्यक्ष ओलीका अनुसार पदाधिकारीहरूका अभिव्यक्ति हेर्दा मदन भण्डारी फाउन्डेसन कसरी जाने हो भन्ने अन्योल छ । यता, नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मदन–आश्रित स्मृति प्रतिष्ठान अध्यक्ष पदको आज शपथ लिनुभएको छ ।
नवनिर्वाचित अध्यक्ष ज्ञवालीले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष तथा प्रतिष्ठानको प्रमुख संरक्षक केपी शर्मा ओलीसमक्ष शपथ लिनुभएको हो । पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष ज्ञवालीसहित उपाध्यक्ष रामेश्वर फुयाँल, सचिव मधु तिम्सिना र कोषाध्यक्ष सरोज दाहालले पनि शपथ लिनुभयो । शपथ लिएपछि ज्ञवालीले मदन–आश्रित स्मृति प्रतिष्ठानले मदन–आश्रितको योगदानलाई समाजमा स्थापित गर्नको लागि ३१ वर्षदेखि काम गर्दै आइरहेको बताउनुभयो ।
नवनिर्वाचित अध्यक्ष ज्ञवाली प्रतिष्ठान चार वटा काममा केन्द्रित हुने पनि बताउनुहुन्छ । ज्ञवालीका अनुसार वैचारिक कामलाई अगाडि बढाउने सिलसिलामा एमालेको केन्द्रीय स्कुल विभाग र मदन आश्रित प्रतिष्ठानको विषयमा समझदारी भएको छ । त्यहाँको एउटा भवनलाई पार्टीले जबज स्कुल चलाउने गरी पुनर्निर्माण भएको छ । विधान महाधिवेशन लगत्तै हामीले नियमित रूपमा स्कुल सञ्चालन गर्छाैं । वैचारिक क्षेत्रमा योग्य उत्तराधिकारी, नेता कार्यकर्ताहरू तयार गर्ने हिसाबले प्रयोग हुन्छ ।’ नवनिर्वाचित अध्यक्ष ज्ञवालीको भनाई छ ।
मदन–आश्रित स्मृति प्रतिष्ठान तत्कालीन महासचिव मदनकुमार भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको निधनपछिको शोकको घडीमा जनताको बहुललीय जनवाद (जबज) को वैचारिकतालाई अगाडि बढाउन २०५० जेठ ९ गतेको पार्टी निर्णयबाट खोलिएको हो ।
यता, मदन भण्डारी फाउन्डेसन नेकपा (एमाले) का तत्कालीन महासचिव मदन भण्डारीको स्मृतिमा खडा भएको अर्को संस्था हो । २०५० साल जेठ ३ गते तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको दासढुंगामा निधन भएपछि २०५५ सालमा फाउन्डेसनको स्थापना भएको हो।
एमालेमा मदन भण्डारी फाउन्डेसन संस्थापन इतर समूहका कार्यक्रम र गतिविधि गर्ने थलोको रूपमा परिभाषित भएको आरोप लाग्ने गरेको छ । तत्कालीन महासचिव माधवकुमार नेपाल र झलनाथ खनालका विरुद्ध गुटबन्दी गर्न अहिलेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी फाउन्डेसनलाई नै प्रयोग गर्ने गरेको आरोप पनि कतिपयको छ ।
एमालेमा पहिलेदेखि नै संस्थापनविरुद्ध गुट सञ्चालन गर्न सबैभन्दा बढी प्रयोग हुने संस्था मदन भण्डारी फाउन्डेसन भएको दाबी गर्ने गरिन्छ । अहिले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा सक्रिय हुने अवस्था आउँदा ओलीविरुद्ध गुटबन्दी गर्न मदन भण्डारी फाउन्डेसन प्रयोग हुने आरोप लाग्दै आएको छ ।
पछिल्लो समयमा एमाले अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीच मतभेद बढिरहँदा आज प्रधानमन्त्री एवंम एमाले अध्यक्ष ओलीले मदन भण्डारी फाउन्डेसनबारे प्रश्न उठाउनु भएको छ र फाउन्डेसन पार्टीको नभएको दाबी पनि गर्नुभएको हो । एमालेमा मदन–आश्रित स्मृति प्रतिष्ठान र मदन भण्डारी फाउन्डेसनले आ आफ्ना गतिविधि गरिरहेका छन् ।