काठमाडौं । नेपाली कांग्रेसले पार्टीबाट निर्वाचित तीन वटै तहका जनप्रतिनिधिहरूका लागि कार्यसम्पादन निर्देशिका तयार गरेको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज जनप्रतिनिधिहरूको कार्यसम्पादन निर्देशिका तयार गरिएको हो ।
गत असार २३ मा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले जनप्रतिनिधिहरूको कार्यसम्पादन निर्देशिका पास गर्दै परिमार्जनसहित अन्तिम पारित गर्ने निर्णय गरिएको थियो । केन्द्रीय कार्यसमितिको निर्णयअनुसार बुधबार सभापति, उपसभापति र महामन्त्रीहरू बसेर कार्यसम्पादन निर्देशिकालाई अन्तिम रूप दिइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
कांग्रेसले अधिवेशन गर्न बाँकी रहेका भ्रातृ संगठनहरूको अधिवेशन सम्पन्न गर्न गठन गरिएका निर्देशक समितिहरूका लागि कार्यदेश (टीओआर) पनि तयार गरेको छ । कांग्रेसका विभिन्न सातवटा भ्रातृ संगठनहरूले अधिवेशन गर्न बाँकी छ । केन्द्रीय कार्यसमिति बैठकले बाँकी रहेका भ्रातृ संगठनहरूको अधिवेशन गर्ने जिम्मा निर्देशक समितिहरूलाई दिएको छ । बूढानीलकण्ठ बैठकमा सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा सहभागी हुनुहुन्थ्यो ।