काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानबाट आज स्वदेश फर्किँदै हुनुहुन्छ । प्रधानमन्त्री आज राति ११ बजे काठमाडौं आइपुग्ने उहाँको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू एल.एल.डि.सीको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै साउन १८ गते तुर्कमेनिस्तान जानुभएको थियो ।
नेपाल अध्यक्ष रहेको एल.एल.डि.सी समूहको सम्मेलन साउन २० देखि तुर्कमेनिस्तानको अवाजा शहरमा आयोजना भएको थियो ।
सो सम्मेलनमा २१ गते कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुभएको थियो । सम्मेलनमा प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनका कारण उत्पन्न चुनौती सामनाका लागि विश्वव्यापी सहकार्य र साझेदारी बढाउन जोड दिनुभएको थियो ।
प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभसँग भेटवार्ता गर्दै नेपाल भ्रमणका लागि निमन्त्रणा गर्नुभएको छ । उहाँले संयुक्त राष्ट्रसंघका उपमहासचिव रबाब फातिमासहित विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुख र अन्तर्राष्ट्रिय संस्थाका उच्चपदस्थ अधिकारीहरूसँग पनि भेटवार्ता गर्नुभएको थियो ।