काठमाडौं । निर्वाचन आयोगले ल्याएको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि २०८२’ मा सत्तारूढ नेकपा (एमाले) ले पनि असहमति जाहेर गरेको छ। स्वमूल्याङ्कन राजनीतिक दलहरूको आन्तरिक मामिला भएको जनाउँदै एमालेले त्यसमा आयोगले हस्तक्षेप गर्न खोजेको जिकिर गरेको छ।
आयोगले ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि २०८२’ माथि बिहीबारसम्म सुझाव दिन राजनीतिक दलसहित सरोकारवालालाई आग्रह गरेको थियो। ‘स्वमूल्याङ्कन राजनीतिक दलहरूको आन्तरिक मामिला हो । संविधानको भाग २९ को धारा २६९ देखि धारा २७२ सम्म राजनीतिक दलसम्बन्धी व्यवस्था छ’, एमाले केन्द्रीय निर्वाचन प्रमुख नीरज आचार्यले भने, ‘राजनीतिक दलको गठन, दर्ता, सञ्चालनसम्बन्धी व्यवस्था दलको स्वायत्तता र स्वतन्त्रताको मर्मभित्र रही जनताको आकांक्षाबमोजिम हुने हुन्छ ।’
सैद्धान्तिक रूपमै राजनीतिक दल स्वमूल्यांकन कार्यविधि दल स्वयम्को आन्तरिक विषय भएकाले राजनीतिक दल स्वमूल्यांकन कार्यविधिप्रति एमालेको अहसमति रहेको आचार्यको भनाइ छ । यसअघि बुधबार प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सिंहदरबारमा बसेको विभिन्न दलको बैठकले पनि निर्वाचन आयोगको ‘राजनीतिक दलहरूको स्वमूल्यांकनसम्बन्धी कार्यविधि’ संविधान र कानुनको मर्मविपरीत रहेको जनाएका थिए ।
सत्तारूढ कांग्रेस र प्रमुख विपक्षी एमालेबाहेकका दलहरूको सहभागी बैठकमा निर्वाचन आयोगले उक्त कार्यविधि एमालेको चहाना र इच्छाअनुसार ल्याएकाले त्यसको प्रतिवाद गर्ने निष्कर्ष निकालेको थियो।