काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले तराई–मधेसको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि यथाशीघ्र ठोस योजना तयार गर्न आवश्यक रहेको बताउनु भएको छ । आज खानेपानी तथा ढल व्यवस्थापन विभागको गत आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रगति समीक्षा गोष्ठीको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँ तराई–मधेसको खानेपानी समस्याको दीर्घकालीन समाधानको ठोस उपायमा काम गर्न आफुले विभागलाई निर्देशन दिने बताउनुभएको हो ।
खानेपानी, सरसफाइ तथा ढल निकासको क्षेत्रमा उल्लेखनीय प्रगति गर्दै खानेपानी मन्त्रालय विकासे मन्त्रालयहरुमध्येमा सबैभन्दा उत्कृष्ट नतिजा ल्याउन सफल भएको उहाँको दाबी रहेको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठले गत आर्थिक वर्षमा खानेपानी, सरसफाइ तथा ढल निकासको क्षेत्रमा गरेका कार्यहरूको विस्तृत जानकारी दिँदै आगामी दिनमा अझ प्रभावकारी रूपमा अघि बढ्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको छ ।