काठमाडौं। नागरिक उन्मुक्ति पार्टीभित्रको आन्तरीक विवाद उत्कर्षमा पुगेको छ।पार्टीका संरक्षक रेशम चौधरी पक्षधरको राष्ट्रिय भेलाले हिजो अध्यक्षबाट रञ्जिता श्रेष्ठलाई हटाएर रेशमकै बुबा एवम् रञ्जिताको ससुरा लालवीर चौधरीलाई अध्यक्ष चयन गरेपछि पार्टी भित्रको आन्तरीक विवाद चर्किएको हो।
हुन त नेपालमा राजनैतिक पार्टी स्थापना हुनु, विभाजन हुनु, आन्तरीक विवाद र द्वन्द मच्चीनु खासै नयाँ कुरा होइन तर स्थापनाको छोटो समयमा आम मतदाताको मन जितेर संघमा ४ सांसद र सुदुपश्चिम प्रदेश सरकारमा ७ सांसद जितेको नाउपा छोटो समयमै त्योपनि श्रीमान श्रीमतिबिचको आन्तरीक कलहले विभाजनको डिलमा पुग्नुभनेको अजिबको कुरा भएको छ।
४ सांसदको नेतृत्व गरेर संघ सरकारमा सहभागी रञ्जीता माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा २÷२ पटक मन्त्री बनिसकेपछी पनि पार्टीभित्रकै किचलोले केही समय अगाडी पार्टी संसदिय दलको नेताबाट बर्खास्त हुनुपरेको थियो।
यतिबेला पोखराको बाटुलेचौरको लिची बगानको जग्गा हडप्ने उदेश्यले बिचौलियासँग भएको मोलमोलाई प्रकरणमा मुछिएपछि नाउपाभित्र विवाद चुलिएको थियो भने रञ्जीतामाथी दबाबसमेत बढेको थियो।
करिब डेढवर्षदेखी केन्द्रियसमिति बैठकसमेत बोलाउन नसकेकी रञ्जीतामाथी भ्रष्टाचार प्रकरणमै मुछिएपछी मार्ग प्रशस्त गर्न र केन्द्रिय समिति बैठक बोलाउन दबाबसमेत बढ्दै गएको थियो। तरपनि कुनै सुनुवाई नगरेपछी बहुमत पार्टी केन्द्रिय सहस्यहरुले २४ घण्टे अल्टिमेटम दिएका थिए।
त्यसपछी रञ्जीताले बैठक बोलाउनुको सट्टा विधानविपरित नै शिब वास्तोलालाई पार्टीको कार्यबाहक अध्यक्ष तोकेपछी आन्तरीक विवाद चरम उत्कर्षमा पुग्यो र त्यसपछी संरक्षक रेशम पक्षबाट ज्येष्ठ सदस्यको नेतृत्वमा बसेको बैठकले राष्ट्रिय भेला आह्वान गरेर रञ्जितालाई साधारणसदस्यसमेत नरहने गरी कारबाही गरेपछी रञ्जीता पक्ष असन्तुष्ट बनेको थियो।
त्यसलगत्तै रञ्जीताले आफूलाई अध्यक्षबाट हटाएपछि उल्टै दलका नेता गंगाराम चौधरीलाई नै स्पष्टीकरण सोध्नुभएको थियो। तर हिजो अध्यक्ष रञ्जीताको ठाँउमा ससुरा लालबिर चौधरीलाई पार्टी अध्यक्ष नियुक्त गरेपछी सिंगो पार्टी नै विभाजनको डिलतर्फ उन्मुख बन्न पुगेको छ।
खासगरी बहुमत केन्द्रिय सदस्यले पार्टीको बैठक बोलाउन माग गरेर अल्टिमेटम दिएपनी उल्टै रञ्जीताले विधानविपरित कार्यबाहक तोकेपछी असन्तुष्टि पक्षले चौधरीलाई अध्यक्ष नियुक्त गरेको हो।
पार्टीलाई अनिर्णयको बन्दी बनाउँदै बहुमत केन्द्रिय सदस्यको मागलाई पनि वेवास्ता गरेर अध्यक्षले नै विधानविपरीतका काम गर्न थालेपछी पार्टीलाई विधि विधानमा हिडाउन नयाँ नेतृत्व चयन गरिएको केन्द्रिय सदस्या रामलाल डगौराले जानकारी दिनुभयो।
त्यसअघी आँफ्नै श्रीमती तथा पार्टी अध्यक्ष रञ्जीताले आँफु र पार्टीभित्र छलफल नगरी कार्यबाहक तोकेपछी असन्तुष्ट बन्नुभएका संरक्षक रेशमले अध्यक्षकै कारणले अहिले पार्टीभित्र समस्या देखिएको आरोप लगाउनु भयो।
विधान विपरीत कार्यवाहक अध्यक्ष तोक्नुले आफूसँगै अन्य नेता कार्यकर्ताको पनि चित्त दुखाएको भन्दै उहाँले केन्द्रीय समिति बैठक बोलाएर प्रष्टीकरण दिनुपर्ने र कार्यवाहक तोक्ने निर्णय गराउनुपर्नेमा त्यसो नगरेको रेशमको जिकिर थियो।
तर,उता रञ्जिताले यो निर्णय अवैध भन्दै अमान्य हुने चेतावनी दिनुभएको छ। रञ्जिताले राष्ट्रिय भेला अवैध रहेको र त्यसले आँफुलाई अध्यक्षबाट हटाउन नसक्ने दाबी गर्नुभएको छ। आफू वैधानिक अध्यक्ष रहेकोले अर्को निर्णयलाई निर्वाचन आयोगले वैधता नदिने पनि उहाँको भनाइ छ।
यद्यपी नवनियुक्त अध्यक्ष चौधरीले पार्टी अनिर्णयको बन्दी बनेपछी पार्टीलाई विधि विधानमा चलाउन बहुमत केन्द्रिय सदस्यहरुले आँफुलाई अध्यक्ष नियुक्त गरेकोले अब सबैलाई समेटेर अघि बढ्ने बताउनु भएको छ।
उहाँले आँफुलाई निकासका लागी नेतृत्व दिएकोले पार्टी कमिटीको सुझावको आधारमा अघि बढ्ने प्रतिबद्धता जनाउँदै रञ्जीतालाई पनि धेरै पर नराखेको भन्दै पार्टीमा आएर आफ्नो कुरा राख्न सुझाव दिनुभयो।
खासगरी मधेसी र थारु समुदायको मुद्दा उठाएर स्थापना भएको नाउपा पार्टी संरक्षक रेशम चौधरी जेलमै रहेको बेलामा पनि लोकप्रीय मत प्राप्त गर्न सफल भएको थियो तर आन्तरीक द्वन्द अझ भनौं श्रीमान श्रीमतिबिचको पारिवारिक कलह समाधान गर्न नसक्दा पहिलो चुनाव जितेको कार्यकालमै पार्टी नै गम्भिर संकटमा परेको छ।
यसपटकको निर्णयले नाउपामा ससुरा बुहारीको दुई समानान्तर नेतृत्व खडा भएको छ। पुराना दलहरुको स्वार्थ केन्द्रित राजनितिले आजित जनमानसमा नयाँ दलहरुले जगाएको आशा पनि पारिवारीक कलहले सिंगो पार्टीभित्रको शक्ति सन्तुलन तथा निर्णय प्रक्रियामै संकट उत्पन्न हुँदा सिंगो पार्टी त गम्भिर मोडमा पुगेको छ नै आम मतदाताको विश्वासमा पनि कुठाराघात भएको छ।
अन्य पुराना दलहरुलाई जनताको मत पाएपछी पारिवारिक स्वार्थपूर्ति अर्थात परिवारवादमा लिप्त बनेको आरोप लगाउँदै स्थापित पार्टी नै सोही प्रकृतिका गतिविधीमा संलग्न बनि गम्भिर प्रश्न खडा गर्नु साच्चिकै लज्जास्पद कुरा हो। यसको नतिजा नाउपाले मतदाताबाटै प्राप्त गर्नेछ।