काठमाडौं । सभामुख देवराज घिमिरेले संसद्को शक्ति डिजिटल पहुँच र जनविश्वासमा निहित रहेको बताउनु भएको छ । जेनेभा, स्विट्जरल्याण्ड यही साउन १३ गतेदेखि १५ गते (२९–३१ जुलाई २०२५) सम्म भइरहेको संसद्का सभामुखको छैटौँ विश्व सम्मेलनमा सभामुख घिमिरेले संसद्को शक्ति डिजिटल पहुँच र जनविश्वासमा निहित रहेको बताउनु भएको हो ।
‘हाम्रो डिजिटल भविष्य निर्माणमा संसद्हरूको भूमिका के हुनसक्छ ?’ भन्ने विषयमा बोल्दै भने, ‘आज संसद्को शक्ति केवल शब्दमा मात्र होइन, डिजिटल पहुँच र जनविश्वासमा निहित रहेका छ,’ सभामुख घिमिरेले भन्नुभयो ।
प्रविधि क्षेत्रमा बजेट वृद्धिलाई प्राथमिकता दिन अत्यन्त जरूरी भएको र डिजिटल पूर्वाधार, साइबर सुरक्षा, इन्टरनेट साक्षरता र डेटा सुरक्षामा स्रोत सुनिश्चित गर्न सक्नुपर्ने उल्लेख गर्दै उहाँले ती व्रडिजिटल परिवर्तनको युगमा संसद् पछाडि मात्र लाग्ने नभई अग्रसर हुने संस्था बन्नुपर्ने बताउनुभयो ।
‘सामाजिक सञ्जाल र डिजिटल माध्यममार्फत सांसदहरूले सीधै नागरिकसँग संवाद गर्न, उनीहरूको प्रतिक्रिया लिन रजनमतलाई नीति निर्माणमा समावेश गर्न सक्षम भएको बताउँदै उहाँले गलत सूचना, भ्रमपूर्ण प्रचारजस्ता प्रविधिको दुरुपयोगका समस्या बढ्दै गएका कारण संसद्हरूको काँधमा प्रविधि प्रयोगसँगै डिजिटल साक्षरता प्रवद्र्धन गर्ने जिम्मेवारी रहेको बताउनुभयो ।
सभामुख घिमिरेले संसद्हरूले मेसिन लर्निङ, डेटासेन्टर, डिजिटाइजेशन, स्पीच (टु–टेक्स्ट प्रविधिको अभ्यास गरेर संसदको कार्यप्रणालीलाई अझ प्रभावकारी बनाउन सकिने र यस्ता प्रविधिले जनसाधारणसँग संसद्को सम्बन्ध अझ बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।
उहाँले डिजिटल प्रविधिले संसद्को कार्यसञ्चालनमा पारदर्शिता, कार्यकुशलता र जनसहभागिता अभिवृद्धि गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको जानकारी दिनुभएको छ । अनलाइन प्रसारण, ई संसद् प्रणाली, डिजिटल अभिलेख तथा इलेक्ट्रोनिक मतदान प्रणालीजस्ता प्रविधिले संसद्को कामकाजलाई आधुनिक, प्रभावकारी र सबैका लागि पहुँचयोग्य बनाएको उहाँको भनाई थियो ।