काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूले सबै राजनीतिक गतिविधि खुला रूपमा गर्दै आएको बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज पत्रकारहरूसँग उहाँले आफूले कुनै पनि गोप्य भेटवार्ता नगरेको बताउनु भएको हो । राजनीतिक दलहरूबीच नियमित छलफल हुनु स्वाभाविक भएको उहाँको भनाइ छ ।
पूर्वराष्ट्रपति विद्या भण्डारीसँग हालैको भेटका बारेमा प्रश्न उठ्दा उहँले भण्डारीलाई राष्ट्रपति हुँदा पनि भेटेको र अहिले पनि भेट्नु अस्वाभाविक नभएको बताउँदै सो भेटलाई अनावश्यक रूपमा बढी तौल दिइएको भन्दै आपत्ति जनाउनुभयो ।
संसदीय दलको नेता परिवर्तनको चर्चा सन्दर्भमा कोइरालाले त्यस्तो कदम चाल्न आवश्यक संख्या चाहिने भएकाले सबै पक्ष जानकार रहेको उहाँको भनाई छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई पार्टी मात्र नभई मुलुककै नेता भन्दै उहाँले विभिन्न विषयमा दलका नेताहरूसँग भेटघाट गर्नु स्वाभाविक भएको धारणा राख्नु भएको छ ।
कुलिङ अफ पिरियडसँग सम्बन्धित विधेयकमाथि बोल्दै कोइरालाले यो विषयमा विश्वास तोडिएको टिप्पणी गर्नुभएको छ । उच्च तहबाट आएको निर्देशनमा आधारित भएर एमालेका पाँच सांसदले संशोधन प्रस्ताव अघि सारेको उल्लेख गर्दै उहाँले राष्ट्रपतिको भूमिकामाथि पनि प्रश्न उठाउनु भएको छ ।
उहाँले नयाँ सरकार निर्माणको सन्दर्भमा कुनै ठोस विकल्प आफूले नदेखेको भन्दै वर्तमान राजनीतिक अवस्थाले निकास खोज्न गम्भीर पहल आवश्यक रहेको औंल्याउनु भयो ।