काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले १० वर्षको अवधिमा मुलुकको अवस्थामा आमूल परिर्वतन देखिएको बताउनु भएको छ । सिद्धिश्रमान अक्षलोक साहित्य केन्द्रद्वारा आइतबार ललितपुरमा आयोजित सम्मान अर्पण र पुरस्कार समर्पण कार्यक्रममा मन्त्री दाहालले १० वर्षअघिको नेपाल र अहिलेको नेपालमा उल्लेखनीय रूपमा सकारात्मक परिवर्तन देखिएको बताउनुभयो ।
सिद्धिश्रमान अक्षलोक साहित्य केन्द्रलाई धन्यवाद दिँदै मन्त्री दाहालले लामो समयदेखि शिक्षण पेसा तथा अक्षलोक साहित्यिक पत्रिका प्रकाशनमार्फत समाजमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै सिद्धिश्रमान श्रेष्ठको स्मृतिमा आयोजना गरिएको सम्मान अर्पण र पुरस्कार समर्पण कार्यक्रम अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो ।
कार्यक्रममा सिद्धिश्रमान अक्षलोक साहित्यिक पत्रिकाको पूर्णाङ्क ६८औँ लोकार्पण गरिएको थियो । साथै, साहित्यकार सिद्धिश्रमानको सम्झनामा विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।