काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा फर्किन नदिन हरसम्भव कोसिस गरिरहेका छन् । उनले च्यासल बैठकमा सहभागी नेताहरूलाई बालुवाटारमै बोलाएर पूर्वराष्ट्रपतिका लागि पार्टीभित्र कुनै स्थान नदिन निर्देशन दिइरहेका छन् ।
गत असार १४ गते एमालेको राजनीतिमा आउने घोषणा गरेकी भण्डारीको संगठित सदस्यतासमेत साउन ६ गतेको केन्द्रीय कमिटीबाट निष्क्रिय बनाइसकेका ओली अहिले आन्तरिक छलफलमा छन् ।
गत बिहीबार बबरमहलमा पत्रकार सम्मेलन गरेर पूर्वराष्ट्रपति भण्डारीले आफूलाई एमालेकी पूर्वउपाध्यक्षका रुपमा प्रस्तुत गरेयता ओलीले प्रदेश कमिटी र भूगोलका नेताहरूलाई बालुवाटार बोलाउँदै छेक्ने अभियान थालेका हुन्। उनले पूर्वराष्ट्रपतिका लागि कुनै पनि बैठक, फोरम र छलफलका लागि स्थान नदिन निर्देशन दिइरहेका छन् ।
उनले सम्बन्धित प्रदेशका इन्चार्जसहितका नेताहरूलाई प्रधानमन्त्रीको सरकारी निवासमै बोलाएर विद्या भण्डारीका लागि पार्टीभित्र कुनै स्थान नराख्न निर्देशन दिएका हुन् । भण्डारीले आफू मदन भण्डारी फाउन्डेसनबाट सक्रिय हुने कोसिस गरिरहेका बेला ओलीले उनलाई हावाको झोंक्काको संज्ञासमेत दिएका छन्।