काठमाडौं । हालै बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपतिलाई दलविशेषको पार्टी सदस्य र कार्यकर्ता वा नेता हुन नमिल्ने निष्कर्ष निकालपछि पूर्वराष्ट्रपति तथा सो पार्टीकी पूर्वउपाध्यक्ष रहनुभएकी विद्यादेवी भण्डारीले आज पत्रकार भेटघाट आयोजना गरेर आफ्ना कुरा राख्नुभएको छ ।
देशको सर्वोच्च पदमा बसिसकेको व्यक्ति राजनीतिमा आउनु संविधानको मर्म विपरीत रहेको निष्कर्ष निकाल्दै एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीको सदस्यतालाई निरन्तरता नदिने निर्णय केहिदिन पहिले गरेको थियो।
सो निर्णयपछि पार्टीकी पूर्वउपाध्यक्ष रहनुभएकी भण्डारीले पत्रकार सम्मेलन गरि आज आफ्ना भनाई सार्वजनीक गर्नुभएको हो । पूर्वराष्ट्रपति भण्डारी आफूले पार्टी सदस्यता लिएको ४५ वर्ष भइसकेको उल्लेख गर्दै सदस्यता नवीकरणबाट रोक लगाउन नमिल्ने बताउनुहुन्छ ।
पूर्वराष्ट्रपतिसमेत रहनुभएकी एमाले नेतृ भण्डारीले आफ्नो पार्टी सदस्यता कसैले खान नसक्ने जिकिर गर्नुहुन्छ । विशेष पत्रकार सम्मेलन गरेर नेतृ भण्डारीले कसैलाई लाग्दैमा आफ्नो सदस्यता खान नसक्ने बताउनुभएको हो ।
भण्डारीले आफू एमालेमै आबद्ध रहेर सक्रिय राजनीति गर्ने उद्घोष पनि गर्नुभएको छ। ’नेपालको संविधान, ऐन कानुन र पार्टीको लोकतान्त्रिक मूल्यमान्यता समेतलाई नजरअन्दाज गरेर राजनीतिमा संलग्न हुन पाउने मेरो संवैधानिक अधिकार र स्वतन्त्रतालाई सङ्कुचन वा नियन्त्रण हुने गरी गरिएका अपरिपक्व निर्णयले मलाई दुःखित तुल्याएको छ । यस प्रकारका निर्णयले पार्टीको साख र प्रतिष्ठालाई गिराउनेछ।
आवेग र उत्तेजनाका भरमा गरिएका यस्ता निर्णयले सत्यलाई अस्थायी रूपमा भ्रमित तुल्याउन सकिएता पनि वास्तविकतालाई सधैं छोप्न सकिँदैन,’ भण्डारीको भनाई छ । पदप्रति कुनै लालसा नभएको दाबी उहाँको छ ।
नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले भण्डारीको सदस्यता नवीकरणमा रोक लगाउँदै सक्रिय राजनीतिमा आउन नमिल्ने निर्णय गरपछि भण्डारीले मुख खोल्नुभएको हो । उहाँले राष्ट्रपतिको कार्यकालपछि समाज, राजनीति र अन्तर्राष्ट्रिय मामिलामा चिन्तन गरिरहँदा पार्टीमार्फत् आफ्नो राजनीतिक यात्रा अगाडि बढाउने निष्कर्षमा पुगेको उल्लेख गर्दै विधिपूर्वक सदस्यता नवीकरण गरेको बताउनुभयो ।
पार्टीकी पूर्वउपाध्यक्ष रहनुभएकी भण्डारीले आफूलाई रोक्नेगरी एमालेले गरेको निर्णय वैध र परिपक्व हुन नसक्ने दाबी गर्नुहुन्छ ।
पूर्वराष्ट्रपति भण्डारीले आफूले एमालेको सदस्यता विधिपूर्वक नवीकरण गरिसकेको बताउनुहुन्छ । भण्डारीले पार्टीको निर्णय अपरिपक्व, आवेगपूर्ण र जनवादी केन्द्रीयताको सिद्धान्त विपरीत रहेको टिप्पणी गर्दै यस्तो निर्णयले पार्टीको साखमा आँच आउने दाबी गर्नुभएको छ ।
भण्डारीले आफूलाई पूर्वउपाध्यक्षको हैसियतमा राख्नुभएको छ । पत्रकार सम्मेलनमा वाचन गरेर सुनाएको वक्तव्यको अन्तिममा भण्डारीले आफ्नो परिचय ‘पूर्वउपाध्यक्ष’ भनेर राख्नु भएको हो ।
साउन ६ गते नेकपा एमालेको केन्द्रीय कमिटीले “मुलुकको राष्ट्राध्यक्ष, राष्ट्रिय एकताको प्रतीक, संविधानको पालनकर्ता र संरक्षणकर्ता, सेनाको परमाधिपति, राष्ट्रिय गौरव, गणतन्त्रको प्रतीक, साझा व्यक्तित्व र देशको अभिभावक भएकाले कुनै पनि दलविशेषको पार्टी सदस्य र कार्यकर्ता वा नेता हुने कुरा यो गौरवमय जिम्मेवारी लिएको व्यक्तिबाट सम्भव हुँदैन र मिल्दैन“ भन्ने निष्कर्ष निकालेको थियो।
कमिटीले त्यसो गरेमा जनतामा, प्रणालीमा, व्यवस्थामा र संविधानको मर्म र भावनामा गलत अभ्यास हुने ठहर गरेको थियो।