काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको ध्येय नै जनताको आवाज सुन्ने, जनताको चाहना पूरा गर्ने र सुशासनको माध्यमबाट आर्थिक रुपमा समृद्ध नेपाल निर्माण गर्ने रहेको बताउनु भएको छ ।
राष्ट्रिय विभूति भीमसेन थापाको २५१ औँ जयन्तीको अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यही शासन प्रणालीबाट नै हामीले हाम्रा पूर्खा र इतिहासले सुम्पिएको दायित्व पूरा गर्न सक्ने स्पष्ट गर्दै सबैको ध्यान त्यसतर्फ केन्द्रित गर्नुपर्ने बताउनुभयो ।
राष्ट्रपति पौडेलले इतिहासको जगमा वर्तमान खडा हुने भन्दै वर्तमानको जगमा भविष्यको आधारशीला तय हुने भएकाले वीर पूर्खाहरूको त्याग, बलिदान र बुद्धिमत्तापूर्ण कार्यबाट नै हाम्रो देश बनेको स्ष्पट पार्नुभएको छ । उहाँले नेपालको सार्वभौमसत्ता राष्ट्रिय अखण्डता र स्वतन्त्रताको रक्षाको खातिर आफ्नो जीवनको आहुति दिएका राष्ट्रिय विभूति भिमसेन थापा नेपालको इतिहासमा उच्चकोटिका राजनीतिज्ञ भएको बताउनुभयो ।
राष्ट्रपति पौडेलले भीमसेन थापाको राष्ट्रप्रतिको प्रेम, प्रशासनिक क्षमता र राजनीतिक दूरदर्शिताको कारणले नै मुलुक स्वतन्त्र र अटल रुपमा रहन सकेको भन्दै आर्थिक, प्रशासनिक, सैनिक, सामाजिक सुधारलगायत राष्ट्रको हित, प्रगति र विकासको लागि गर्नुभएको योगदान सदैव सराहनीय रहेको बताउनु भएको छ ।