काठमाडौं । उपसभामुख इन्दिरा रानाले जलवायु न्याय सुनिश्चित गर्न नेपाललाई तत्काल अन्तर्राष्ट्रिय ऐक्यबद्धताको आवश्यकता रहेको बताउनु भएको छ । चीनको हेनान प्रान्तमा सांघाई सहयोग मञ्चले शुक्रबार आयोजना गरेको कार्यक्रममा उपसभामुख रानाले जलवायु परिवर्तनको लागि योगदान नगरे पनि त्यसको प्रत्यक्ष असर भोगेको नेपालका लागि जलवायु न्याय सुनिश्चित गर्न तत्काल अन्तर्राष्ट्रिय ऐक्यबद्धताको आवश्यकता रहेको बताउनुभएको हो ।
‘विकासको लागि शान्तिपूर्ण र स्थिर वातावरणको सुरक्षामा नेपालको दृष्टिकोण’ विषयमा सम्बोधन गर्दै उपसभामुख रानाले हिमाली राष्ट्रको रूपमा नेपाल जलवायु संकटको अग्रपङ्क्तिमा रहेको चर्चा गर्दै मौसम परिवर्तनका असरले हिमाली र ग्रामीण क्षेत्रका नागरिकमा त्यसको प्रत्यक्ष प्रभाव परेको बताउनुभयो ।
जलवायु परिवर्तन, असमानता वा क्षेत्रीय तनाव आज हामीले सामना गर्ने चुनौतीहरू एक देशले मात्र सम्बोधन गर्न नसक्ने भएकाले सांघाई सहयोग मञ्च जस्ता प्लेटफर्महरू प्रभावकारी हुने उहाँको भनाई छ । विकास पहाड, तराई र दुर्गम गाउँहरूमा पनि सबैभन्दा बढी आवश्यकता पर्ने ठाउँमा पुग्नुपर्ने धारणा राख्दै उपसभामुख रानाले नेपालले वातावरणको संरक्षण गर्दै मानिसहरूलाई गरिबीबाट मुक्त गर्ने काम गरिरहेको बताउनुभयो ।
नेपालले द्वन्द्वबाट शान्तिसम्मको लामो यात्रा तय गरेको चर्चा गर्दै उपसभामुख रानाले लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण सजिलो नभए पनि संवाद, राजनीतिक इच्छाशक्ति र जनसहभागिता मार्फत यो सम्भव भएको उहाको भनाइ थियो ।
नेपालले जहिले पनि प्रतिस्पर्धाभन्दा पनि सहकार्यलाई प्राथमिकता दिँदै आएको बताउँदै उपसभामुख रानाले नेपालले पूर्वाधार निर्माण गर्न, व्यापारिक सम्बन्ध बढाउन र जनता जनता बिचको सम्बन्धलाई बलियो बनाउन चीन र अन्य छिमेकीहरूसँग नजिकबाट काम गरिरहेको बताउनुभयो ।