काठमाडौं । हवाई सेवा प्राधिकरण विधेयबारे सांसदहरुले संरचना र सुरक्षामा सुझाव दिएका छन् । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथिको छलफल आज पनि जारी रह्यो ।
समितिमा आज संशोधन प्रस्तावक सांसदले विधेयकका विविध पक्षबारे धारणा राखे । र सुरक्षित, प्रभावकारी र आत्मनिर्भर हवाई क्षेत्र निर्माणका लागि प्रष्ट नीति आवश्यक रहेकोमा जोड समेत दिएका छन् ।
सांसद हितराज पाण्डेले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र हवाई सेवा प्राधिकरण विधेयक एकसाथ अघि बढाइनु पर्ने धारणा राख्दै भन्नुभयो, “यी विधेयक एकअर्कासँग गहिरो रूपमा सम्बन्धित छन् ।
उहाँले प्राधिकरणलाई समयसापेक्ष र प्रभावकारी बनाइनुपर्ने भन्दै समितिको नेतृत्व सचिवले नभई मन्त्रीले गर्नुपर्ने व्यवस्था हुनुपर्ने र जसले गर्दा काम थप व्यवस्थित हुने बताउनुभयो ।
सांसद पाण्डेले जनशक्ति उत्पादन र प्रशिक्षण गरेर मात्रै हवाई सेवा प्रभावकारी बनाउन सकिने बताउनुहुन्छ । उहाँले प्रशिक्षण गरेर जनशक्ति उत्पादन गर्दा नेपालकै जनशक्ति उत्पादन गर्नु आवश्यक रहेकोमा जोड दिनुहुन्छ । साथै, जनशक्तिमा परनिर्भर हुनुपर्ने बाध्यता अब हटाउनुपर्नेमा पनि उहाँको जोड छ ।
नेकपा एमालेका सचिव एवं सांसद तथा पूर्व पर्यटनमन्त्री योगेश भट्टराईले नेपालमा ५५ वटा विमानस्थलहरु रहेको र त्यसमध्ये सञ्चालमा ३२ वटा मात्रै रहेको बताउनहुन्छ ।
१९४९ सालमा पहिलोपटक हवाई सेवा सुरु भएको नेपालमा अहिलेसम्म १०८ वटा दुर्घटना हुँदा ९सय ५९ जना मानिसको ज्यान गएकोे छ ।
हवाई दुर्घटनाको दीर्घकालीन अनुसन्धान एकाइ गठनको व्यवस्था विधेयकले राख्नुपर्ने सुझाव पनि समितिमा आएको छ । विश्वसनीय यातायातको रूपमा हवाई सेवाप्रति जनविश्वास घट्दै गएकाले दीर्घकालीन समाधान र पुनःसंरचनाको आवश्यकता रहेकामा जोड दिईएको हो ।
पूर्व पर्यटनमन्त्री भट्टराई सरकारले नीति तथा कार्यक्रममा अहिले पनि विमानस्थल थप्ने कुरा ल्याउनु उचित नभएको बताउनुहुन्छ ।
कुनै नेताको भोट बढाउनका निम्ति अब विमानस्थलहरु बन्न नहुनेमा उहाँको जोड छ । भट्टराईले नीजगढ अन्तर्राष्ट्रिय एयरपोर्टमात्रै अबको प्राथमिकतामा पर्नुपर्नेमा जोड दिनुहुन्छ ।
अब थप विमानस्थल थप्ने भन्दा भएकाको क्षमता विस्तार गर्नुपर्नेमा समितिमा जोड दिईएको छ । नेपालमा आधुनिक, सुविधायुक्त र अन्तरराष्ट्रिय मापदण्ड अनुरूपको विमानस्थल पूर्वाधार तथा सुरक्षित र भरपर्दो एयर नेभिगेसन प्रणालीको विकास गरी हवाई सेवालाई स्तरीय र प्रभावकारी बनाउन नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्ने सम्बन्धमा कानुनी व्यवस्था गर्न आवश्यक भएकाले यो विधेयक ल्याइएको उल्लेख छ ।