टोरन्टो, क्यानडा । गुटभन्दा माथि उठेर साझा मञ्च निर्माण गर्ने संकल्पका साथ एनआरएनए एनसीसी क्यानडाको अध्यक्ष पदमा चन्द्रा अधिकारीले उम्मेदवारी घोषणा गरेकी छन्। हाल संस्थाकी महासचिव रहेकी अधिकारी पहिलो पटक मतदानमार्फत निर्वाचित महासचिव बनेकी हुन्, र अब पहिलो महिला अध्यक्ष बन्ने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएकी छन्।
चन्द्राको उम्मेदवारीलाई ऐतिहासिक मानिएको छ । एनआरएनए क्यानडाको अध्यक्ष पदमा महिलाले उम्मेदवारी दिएको यो पहिलो पटक हो। संस्थाको नीति र कार्यान्वयनबीचको अन्तर प्रष्ट बुझेर, निष्कलंक सेवा भावका साथ नेतृत्वमा योगदान गर्न आफू तयार रहेको अधिकारी बताउँछिन्।
"गुटभन्दा माथि उठेर साझा मञ्च बनाउने मेरो अभियान हो," उनी भन्छिन्, "म नेपाली डायस्पोराको सामूहिक शक्ति र बौद्धिक योगदानको मूल्य जान्दछु।" चन्द्राले आफूलाई सबल र सक्षम युवा नेतृत्वको प्रतिनिधिका रूपमा प्रस्तुत गरेकी छन्। उनले क्यानडामा रहेका नेपालीहरूको यकिन तथ्यांक संकलनलाई पहिलो प्राथमिकतामा राख्ने बताएकी छन्।
"कतिवटा नेपाली हुनुहुन्छ भन्ने यकिन तथ्यांक छैन, जुन बुझिनसक्नु अवस्था हो," उनले भनिन्, "त्यसैले तथ्यांक संकलन मेरो पहिलो कदम हुनेछ।" उनी संस्थाको आफ्नै सामुदायिक भवन निर्माणको पक्षमा छन्, जसले कार्यसम्पादनलाई थप व्यवस्थित बनाउने उनको विश्वास छ। "अहिले पनि झोलामा कागजपत्र बोकेर काम गर्नुपरेको अवस्था छ," अधिकारी भन्छिन्, "अब आफ्नै कार्यालय र भवनको सपना साकार पार्ने बेला हो।"
चन्द्राले आफ्नो एजेन्डामा नेपाली भाषा र संस्कृतिको संरक्षण, आकस्मिक कोषको विस्तार, र सामुदायिक सहकार्यको सुदृढीकरणलाई प्राथमिकता दिएको बताएकी छन्।
"भैपरी आउने समस्याका लागि हामीसँग पर्याप्त कोष हुनुपर्छ, त्यो म वृद्धि गर्छु," उनले प्रतिबद्धता जनाइन्। स्याङ्जा चापाकोटकी अधिकारी विगत १० वर्षदेखि क्यानडामा बसोबास गर्दै आएकी छन्। यस अवधिमा उनले नेपाली समुदायको सुखदुःखमा सक्रिय उपस्थिति जनाउँदै आएकी छन्।
एनआरएनए क्यानडाको आगामी निर्वाचन जुलाई २७ मा हुने छ, जसमा करिब ६,००० हाराहारीको मतदाता संख्याले मतदान गर्ने अपेक्षा गरिएको छ। चन्द्रा अधिकारीको उम्मेदवारी केवल एक पदका लागि होइन, यो नेपाली डायस्पोरामा समावेशी, सक्षम र नारी नेतृत्वको नयाँ यात्रा प्रारम्भ हो।