काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई लक्षित गरेर सर्वोच्च पदमा पुगेको व्यक्ति सक्रिय राजनीतिमा आउन नहुने बताउनु भएको छ । आज प्रतिनिधिसभा बैठकमा सांसद खतिवडाले सर्वोच्च पदमा पुगेको व्यक्तिले पदको गरिमा छाडेर वडाध्यक्ष बन्न तम्सिन नहुने बताउनु भएको हो ।
“अहिले सर्वोच्च पदमा पुगेका मान्छेहरू आफ्नो गरिमा छोडेर वडाध्यक्षतिर ध्यान दिएको देख्नमा आएको छ । सरकारको ध्यान पुगोस् । सर्वोच्च पदमा पुगेको मान्छे फेरि वडाध्यक्ष हुनुहुँदैन,“ खतिवाडले भन्नुभयो ।
खतिवडाले खानेपानीमन्त्री प्रदीप यादव एक महिनादेखि हराएको भन्दै कटाक्ष गर्दै मधेसमा खानेपानीको हाहाकार हुँदा मन्त्रीले जिम्मेवारी बहन गर्न नसकेको उहाँको भनाइ छ । ‘मधेसमा खानेपानीको हाहाकार छ । मान्छेहरू गाग्री लिएर सडकमा आउने स्थिति सिर्जना भयो । संघीय संसद्मा खानेपानीमन्त्री र मन्त्रालय पनि छ भन्ने जानकारी छ । एक महिनादेखि मन्त्री हराएको सूचना प्राप्त भयो । देखा पर्न सक्नुभएको छैन’ उहाँले भन्नुभयो ।