काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाइएको बताउनु भएको छ । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा सांसद्हरूको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो ।
‘भ्रष्टाचार गर्दिनँ र गर्न दिन्न’ भन्ने अठोटमा आफू स्पष्ट रहेको बताउनु भयो । ‘तथ्यका आधारमा आएका गम्भीर प्रकारका भ्रष्टाचारका घटनालाई कुनै पनि सहन सकिँदैन’, उहाँले भन्नुभयो, ‘कसैले आरोप लगाएकै आधारमा कारबाही गर्न भने सकिँदैन ।’
स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी युवालाई देशमै रोक्नु र वैदेशिक रोजगारीबाट फर्किएकालाई उनीहरूको पुँजी, सीप र अनुभवलाई उत्पादनमूलक क्षेत्रमा उपयोग गर्न सरकारले प्राथमिकता दिएको बताउँदै प्रधानमन्त्री ओलीले नेपालको विकासका प्रमुख क्षेत्रहरू कृषि, उद्योग, पर्यटन, उर्जा एवं पूर्वाधार निर्माणको क्षेत्रमा सरकारी तथा निजी क्षेत्रबाट ठूलो लगानी भइरहेकाले उल्लेखनीय रोजगारी सिर्जना हुने अवस्था रहेको बताउनुभयो ।
प्रधानमन्त्री रोजगार कार्यक्रमलाई राष्ट्रिय रोजगार प्रवद्र्धन कार्यक्रमको रुपमा पुनर्संरचना गर्ने र यसलाई अझ सीपमूलक र रोजगारमूलक बनाउने नीति सरकारले लिएको उहाँको भनाई छ ।