काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आन्तरिक एकतालाई बलियो बनाएर प्रस्तुत हुन केन्द्रीय सदस्यहरूलाई आग्रह गर्नुभएको छ । आजदेखि सुरू भएको एमालेको केन्द्रीय कमिटीको नवौँ बैठकमा अध्यक्षता गर्दै अध्यक्ष ओलीले पार्टीभित्र वैचारिक र नीतिगत रूपमा कुनै विवाद नभएकाले सिङ्गो पार्टी पङ्क्ति एकताबद्ध हुनुपर्नेमा जोड दिनुभएको हो ।
अध्यक्ष ओलीले पछिल्लो समयमा एमालेको पार्टी सदस्यता एक लाख ३९ हजार (२८ प्रतिशत) ले वृद्धि भई सङ्गठनात्मक रूपमा मजबुत भएको बताउनुभयो । उहाँले पार्टीलाई राष्ट्रिय निर्णायक शक्तिका रूपमा रूपान्तरण गर्न आह्वान गरेको एमालेका केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
अध्यक्ष ओलीले केन्द्रीय सदस्यहरूलाई आफूलाई लागेको कुरा बैठकमा राख्न आग्रह गरेको र विरोधी तथा अनेक तत्वहरूले एमालेमाथि झुट र अफवाहको शैलीमा आक्रमणको निसाना बनाएकाले एकताबद्ध भएर सामना गर्न आग्रह गरेको उहाँले जानकारी दिनुभएको छ ।
यस्तै अध्यक्ष ओलीले पार्टीका अरू नेताहरूलाई पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रवक्ता नबन्न सुझाव दिनुभएको छ । पार्टीको नवौं केन्द्रीय कमिटी बैठकको सुरुवात गर्दै अध्यक्ष ओलीले भण्डारीले अहिलेसम्म केही नभनेकाले अरूलाई उहाँको प्रवक्ता नबन्न सुझाव दिनुभएको हो ।
अध्यक्ष ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको अघिपछि लाग्दै हिंडेका नेताहरूप्रति रोषसमेत प्रकट गर्नुभएको छ । चुनाव हारेका नेताहरू पनि भण्डारीको अघिपछि लागेर हिंडेको भन्दै आपत्ति जनाउनु भएको हो । पार्टीको राजनीतिक प्रतिवेदन भन्दै मौखिक रूपमै आफ्ना भनाइ राखेका अध्यक्ष ओलीले एमालेको आन्दोलनले सधैँ हमला ब्यहोरेको बताउनुभयो ।
यसैवीच नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले बोल्ने क्रम जारी छ । बैठक स्रोतका अनुसार, गण्डकी प्रदेशका केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राखिसकेका छन् । अहिले मधेश प्रदेशका सदस्यहरू बोल्न थालेका छन् ।
उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको संगठनात्मक प्रतिवेदनमाथि नेताहरूले धारणा राखिरहेका हुन् । अहिलेसम्म धारणा राखेका मध्ये अधिकांशले पार्टी अध्यक्ष केपी शर्मा ओलीकै पक्षमा बोलेको भएपनि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियताबारे केही नेताहरूले सकारात्मक धारणा जनाइएको छ ।