काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेता तथा सांसद डा. शेखर कोइरालाले अहिले सक्रियता बढाउनुभएको छ । कोईरालाले पछिल्ला दिनमा एकाएक बढाएको दौडधुपलाई कांग्रेस भित्र र बाहिर दुवैतर्फ चासोका साथ हेरिएको छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग खुमलटार पुगेर दुई घण्टा लामो भेटवार्ता गर्नुभएका शेखरले हिजो विहानै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नुभएको थियो । भण्डारीलाई भेट्न शेखर उहाँको निवास बुढानिलकण्ठ नगरपालिका भंगालमा पुग्नु भएको थियो ।
उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको बताईन्छ । प्रचण्डसँगको भेटमा भने शेखरले सरकार ठीक ढंगले नचलेको र जनताको आक्रोश चुलिँदो रहेको बताउनुभएको थियो ।
मन्त्रीहरु घुस डिल र भ्रष्टाचारमा डुबेको, सुशासनको प्रत्याभूति दिलाउन नसकेको र अर्थतन्त्रको अवस्थामा पनि चिन्ताजनक रहेको भन्दै शेखरको प्रचण्डसंग गुनासो रहेको बताईन्छ ।
यता, नेकपा एमालेको बैठकमा पनि कांग्रेस नेता शेखर कोइरालाको सक्रियतामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वराष्ट्रपति विद्या भण्डारी मिलेर सत्ता समीकरण खोजेको विषय उठेको छ ।
नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री रमेश रिजालले कांग्रेसको संसदीय दलको नेताबाट शेरबहादुर देउवालाई हटाउन सम्भव नभएको बताउनुहुन्छ ।
उहाँले डा. शेखर कोइरालाले सभापति देउवालाई दलको नेताबाट हटाउन सम्भव नै नभएको जिकिर गर्नुभयो । संसदिय दलको नेता परिवर्तन हुन्छ भन्ने हाम्रो प्रश्नमा उहाँ भन्नुहुन्छ । रिजाल प्रचण्ड र विद्या भण्डारीले भनेर नेपाली कांग्रेसको संसदीय दलको नेता छानिने हो र ? त्यो त नेपाली कांग्रेसले छान्ने हो नि । शेखरजी बन्न सम्भव नै छैन ।’ रिजालको तर्क छ ।
उहाँले पार्टीभित्र देउवाको पक्षमा रहेका नेताहरु एनपी साउद र बालकृष्ण खाँण शेखरको गुटमा नगएको समेत दाबी गर्नुभयो ।
शेखर कोइरालाले संसदीय दलको नेता बन्छु भनेको हो दिउँसै सपना देखेकोजस्तो भएको टिप्पणी रिजाल गर्नहुन्छ । विचारमा स्पष्ट अडान भएको व्यक्ति नभएकोले शेखर दलको नेता वा प्रधानमन्त्री केही पनि नबन्ने ठोकुवा पनि रिजालको छ ।
त्यसोभए, सरकार परिवर्तन गर्ने शेखर कोइरालाको प्रस्ताव सम्भव छ त ? यसबिषयमा अहिले चर्चा परिचर्चा भईरहेको छ । शेखर कोईरालाको पछिल्लो क्रियाकलापप्रति अन्य दलले पनि चासो राखेका छन् । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल संसदिय व्यवस्थामा धेरै पार्टी भएपछि अनेक अवसर हुने हुँदा समिकरण बनिरहने संभावना र चलखेल हुनु सामान्य हो भन्नुहुन्छ ।
अघिल्लो महाधिवेशनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पार्टीमा पूर्ण बहुमतको पकड भएपनि अहिले अवस्था त्यस्तो नरहेको खनालको आशय छ । ‘शेरबहादुरजी पनि बुढो हुनुभयो, उहाँको क्षमता क्रमिक रुपमा कमजोर हुँदैछ, उहाँको पकड पनि कमजोर हुँदैछ । अनि विकल्प के हुन्छ भनेर पार्टीले त खोज्छ नि। खनालको तर्क छ ।
शेखर कोईरालाको पछिल्लो दौडधुपलाई चासोका साथ हेरिएको छ । अर्कोतर्फ नेपाली कांग्रेसभित्र संसदीय दलमा समिकरण क्रमशः बदलिएको महसुस भएको तर्क पनि गरिएको छ । तर, कोइराला निकटहरु भने वैकल्पिक सरकार बनाउने गृहकार्यका लागि शेखरले पूर्वराष्ट्रपति भण्डारीसँग भेटघाट नगरेको दाबी गरिरहेका छन् ।
एक वर्ष अघि दुई दलले गरेको सहमति अनुसार सरकार नचलेको र सबैतिरको शक्ति लिएर सुशासनका लागि र जनतामा डेलिभरको दबाब दिन शेखर कोईरालाले भेटघाट गरेको तर्क शेखर पक्षको छ । कोइरालाको यो सक्रियतालाई ओली, देउवासँग असन्तुष्टहरु एकै ठाउँमा उभिने ‘रिहर्सल’का रुपमा समेत व्याख्या गर्न लागिएको छ ।