काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आफूबारे सार्वजनिक अडिओमा कुनै संलग्नता फेला परे जस्तोसुकै सजाय पनि भोग्न तयार भएको बताउनु भएको छ । बिहीबार मन्त्रालयको एक वर्षे उपलब्धी सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा उहाँले यस्तो बताउनु भएको हो ।
‘यहाँहरूले अडियो सुन्नुभएको छ । मेरो आवाज, मैले त्यहाँ मागेको कुरा, मैले यो गर्दिन्छु भन्ने तपाईंहरूले फेला पार्नुभयो भने जस्तोसुकै सजाय पनि भोग्न तयार छु,’ मन्त्री अधिकारीले भन्नुभयो । उहाँले कसैले नियोजित रुपमा चलाएका हल्लाको पछि लाग्दा सिंगो देशलाई नै असर पर्ने पनि बताउनु भएको छ ।
‘मालपोत अधिकृत सरुवा भएर गएपछि त्यहाँ जाने कुरा पनि भएको छैन । मालपोत अधिकृतले जान्छु भन्नुभएको पनि छैन । उहाँले जान्न भन्नुभएको थियो होला,’ उहाँले भन्नुभयो, ‘उहाँ मुद्दामा पनि जानुभयो । गएपछि उहाँको फैसलामा आएन । अहिले आएर जोडेर अब मेरो नामसँग मुछेर, मेरो परिवारसँग मुछेर हाम्रो चरित्र हत्या गर्ने र आफ्नो अभिष्ट पूरा गर्ने अभ्यास गरिएको छ ।’