काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनलाई नेपाली कांग्रेसकी नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले सकारात्मक रुपमा लिनु भएको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाले भण्डारीको आगमनप्रति असन्तुष्टि जनाएको खवर सार्वजनिक भइरहेका बेला काँग्रेसकै प्रभावशाली नेतृत्व कोईरालाले भने भण्डारीको आगमनबाट सम्पूर्ण नेपाली महिला नेतृत्व वर्गमा उत्साह जागेको उल्लेख गर्नु भएको हो ।
आज विहान सामाजिक सञ्जालमा आफ्नो र भण्डारीको पुरानो फोटो समेत सार्वजनिक गर्दै कोईरालाले पुर्व राष्ट्रपति भण्डारीलाई सक्षम, इमान्दार र उच्च राजनीतिक संस्कार भएको व्यक्तित्वको रुपमा चित्रित गर्नु भएको छ । उहाँका अनुसार भण्डारीको पुनः सक्रियता सिंगो महिला समुदायका लागि प्रेरणादायक छ।
“पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ज्यूको सक्रिय राजनीतिमा पुनरागमनले सम्पूर्ण नेपाली महिला नेतृत्व वर्गमा उत्साह प्रदान गरेको छ,” कोइरालाले लेख्नु भएको छ, “उहाँ एक सक्षम, इमान्दार र उच्च राजनीतिक संस्कार भएको व्यक्तित्व हुनुहुन्छ। उहाँलाई आगामी राजनीतिक यात्राका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।”
पूर्वराष्ट्रपति भण्डारीले पुनः सक्रिय राजनीतिक भूमिकातर्फ अग्रसर हुने घोषणा गरेपछि उहाँको आगमन ठिक की बेठिक भन्ने विषयमा पक्ष र विपक्षमा वहस भइरहेको छ ।