काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धि सँगसँगै जनसङ्ख्याको समान विकास नभए मानव अस्तित्व खतरामा पर्ने भएकाले समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न आग्रह गर्नुभएको छ ।
विश्व जनसङ्ख्या दिवसका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित राष्ट्रिय जनसङ्ख्या नीति, २०८२ सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले विकास र जनसङ्ख्याको गति सँगै हुनुपर्नेमा जोड दिँदै हरेकले आफ्नो सन्तान वृत्तिलाई धर्तीका लागि उत्तरदायित्वका रूपमा लिनुपर्ने बताउनु भएको हो।
‘मानिस भएकाले हरेक देशको अर्थ छ, धर्तीको अर्थ छ। जनसङ्ख्या हुँदैनथ्यो भने देश हुँदैन। हामीले मानव जातिको अस्तित्व र सुखपूर्ण अस्तित्व रक्षाका लागि उपयुक्त नीति र कदमहरू चाल्नुपर्छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।
यस्तै उहाँले सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकको समृद्धिका लागि अघि बढ्नुपर्ने बताएका छन् । शुक्रबार ललितपुरमा महिला उद्यमी महासङ्घले आयोजना गरेको अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले समृद्धिका लागि सँगै काम गरेर सफलता हासिल गर्नुपर्नेमा जोड दिएका हुन् ।
सरकारले युवा र महिला उद्यमशीलतालाई उच्च महत्वका साथ हेरेको उनले बताए । प्रधानमन्त्री ओलीले महिलाको सशक्तिकरणको लागि संविधान र व्यवहारमा व्यवस्था गर्दै आएको जिकिर गरे ।
त्यसैका लागि तीनै तहमा कम्तीमा ३३ प्रतिशत जनप्रतिनिधि सुनिश्चित गरेको उनको भनाइ छ । सम्मेलनमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र माल्दिभ्स, युएई दूतावासका प्रतिष्ठित प्रतिनिधि र नेताहरूको सहभागिता रहेको महिला उद्यमी महासङ्घले जनाएको छ ।