काठमाडौं । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति पूर्व गृहमन्त्री रवि लामिछाने पनि संयुक्त राज्य अमेरिकामा भिजिट भिसामा गएको सुनेको बताउनु भएको छ । प्रतिनिधिसभा बैठकमा बुधबार गृहमन्त्री लेखकले सत्य तथ्य के हो जानकारी गराइदिन जानकार सांसदहरूलाई आग्रह गर्नुभएको छ ।
‘रवि लामिछाने कुनै समय भिजिटरका रूपमा संयुक्त राज्य अमेरिका जानुभएको थियो रे । यदि भिजिट भिसामा जानु भएको होइन भने के भिसामा जानु भएको हो,’ गृहमन्त्री लेखकले भन्नुभयो, ‘सुनेको छु जान्ने साथीहरूले बताइदिए मलाई पनि स्पष्ट हुने मौका मिल्थ्यो ।’
भिजिट भिसामा गएर त्यही देशको ‘सिटिजनसिप’ प्राप्त गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न गर्दै मन्त्री लेखकले भिजिट भिसामा गएर उतैको सिटिजनसिप लिएर बसेका र पछि नेपाल फर्किएका नेताका कार्यकर्ताले अरूलाई नैतिकताको पाठ पढाउन उपयुक्त नहुने बताउनुभयो । गृहमन्त्री लेखकले प्रधानमन्त्रीसँग जाने मानिसहरू मन्त्रिपरिषद् बैठकले निर्णय गरेर मात्रै जाने र उनीहरूको भ्रमण सूची पहिला नै मन्त्रिपरिषद् निर्णय अनुसार जानकारी गराइसकिएको बताउनुभयो ।
प्रधानमन्त्रीको भ्रमण दलमा गएका को–को फर्किएनन् सूची दिन आग्रह गर्दै गृहमन्त्री लेखकले सूची दिन नसक्ने भए कल्पनामा अनुमानमा असत्यका पुलिन्दा नबाँध्न आग्रह गर्नुभयो ।