काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभियामा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’ विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको सहभागिता र उपलब्धिबारे जानकारी गराउनुभएको छ । प्रधानमन्त्री ओलीले हालै सम्पन्न आफू नेतृत्वको स्पेन भ्रमण सफल र अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्ध विस्तारमा सहयोग पुगेको बताउनुभएको हो ।
आफ्नो स्पेन भ्रमणबारे संसद् बैठकलाई जानकारी गराउनुहुँदै प्रधानमन्त्री ओलीले आफूले नेतृत्व गरेको प्रतिनिधि मण्डलको भ्रमण सफल रहेको बताउनुभयो । भ्रमण अन्तर्राष्ट्रिय दृष्टिकोणले महत्वपूर्ण रहेको र अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्ध सुधारमा भूमिका खेलेको प्रधानमन्त्रीले जानकारी गराउनुभयो ।
गोलमेच बैठकमा जलवायु परिवर्तन, खाद्य सुरक्षाजस्ता विषयमा महत्वपूर्ण छलफल भएको चर्चा गर्नुहुँदै प्रधानजमन्त्री ओलीले बैठकमा अन्तर्राष्ट्रि सहयोगको प्रतिबद्धता आएको बताउनुभयो । गोलमेच बैठकमा औपचारिक विकास सहयोग लगायत दिगो विकासको विषयमा समेत छलफल भएको बताउनुभयो । गोलमेच बैठकमा नेपालको छवि उच्च भएको बताउँदै उहाँले नेपालको एजेण्डा अन्तर्राष्ट्रियकरण गर्नसमेत सहयोग पुगेको प्रष्ट पार्नुभयो ।
नेपाल अन्तर्राष्ट्रिय मञ्चमा नेतृत्वदायी भूमिका खेल्न सक्ने सक्षम राष्ट्रको पहिचान बनाएको बताउँदै प्रधानमन्त्री ओलीले राष्ट्रवाद, संरक्षणवाद बारेमा छलफल भई विश्वमा दिगो शान्ति समृद्धिका लागि र जलवायु परिर्वतनको क्षेत्रमा ठोस निर्णय गर्ने वातावरण निर्माण भएको चर्चा गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “वित्तिय स्रोत परिचालनसम्बन्धी अभियानमा नेपाल संलग्न भएको जानकारी गराएको छु, खानेपानी, सरसफाइसम्बन्धी काममा नेपालले राम्रो काम गरिरहेको र सो अभियानमा नेपाल निरन्तर लागेको जानकारी गराएँ ।”
विकासशील देशले भोगिरहेको जलवायु परिवर्तनका कारण उत्पन्न हुने पीडा, समस्याबारेमा गम्भीर छलफल भएको बताउँदै प्रधानमन्त्री ओलीले दिगो विकासका लागि नागरिकले निरन्तर खवरदारी गर्नुपर्ने विषयमा चर्चा भएको बताउनुभयो । सम्मेलनका क्रममा विभिन्न देशका राष्ट्र प्रमुखहरुसँगको भेटमा बहुपक्षीय विषयमा छलफल भएको जानकारी दिनुभयो ।
सम्मेलनमा झण्डै ५० देशको राष्ट्रप्रमुखको सहभागिता रहेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले त्यहाँ नेपालको प्रतिनिधित्व नेतृत्वदायी भएको बताउनुभयो । यस्तो भ्रमणले कूटनीतिक दृष्टिकोणले र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा सहयोग पुग्नेगरेको उहाँले विश्वास व्यक्त गर्नुभयो । सम्मेलनमा नेपालमा लगानी गर्न आव्हान गरिएको र लगानीको वातावरण नेपालमा उचित रहेको जानकारी गराएको बताउनुभयो ।
यता, प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वृत्त’सम्बन्धी स्पेनमा भएको कार्यक्रममा प्रधानमन्त्री सहभागी भएर नेपालले कूटनीतिक तथा आर्थिक फाइदा नलिएको टिप्पणी गरेको छ । प्रतिपक्षी दलहरुले प्रधानमन्त्री ओलीको भ्रमण असफल भएको निष्कर्ष निकालका छन् ।
तर परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको भ्रमण सफल रहेको दाबी गरेको छ । ‘प्रधानमन्त्रीको सक्रिय सहभागिताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि अभिवृद्धि भएको दाबी गरिएको छ ।
स्पेनको सेभियामा यही असार १६ देखि १९ गतेसम्म आयोजना भएको संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा भाग लिई प्रधानमन्त्री ओली शुक्रवार स्वदेश फर्कनुभएको हो ।