काठमाडौं। नेपालको पहिलो महिला राष्ट्रपति बनेर इतिहास बनाउनु भएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको पार्टी राजनीतिमा फर्किएर अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वमा चुनौती दिने चर्चा र अड्कल अहिले सर्वत्र चलिरहेको छ । जसले गर्दा अहिले एमालेको आन्तरिक राजनीति रोचक मोडमा पनि छ ।
यहि चर्चाका बीचमा पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आउने कुराले पार्टीमा कुनै प्रकारको अन्तरविरोध नभएको दाबी पनि गरिएको छ । एमाले सचिव रघुवीर महासेठले पार्टीभित्र अन्तरविरोध भएको कुरामा सत्यतता नरहेको दाबी गर्नुहुन्छ । महासेठ पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आउने कुराले पार्टीमा कुनै प्रकारको अन्तरविरोध नभएको तर्क गर्नुहुन्छ ।
एमालेको आन्तरिक जीवनको बारेमा धेरै प्रश्न गरिएको भन्दै पार्टी अध्यक्ष ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीमा अन्तरविरोध बढिरहेको भ्रम फिँजाउन खोजिए पनि सत्य नरहेको दाबी गरिएको छ । अहिले एमालेभित्र कार्यकर्ता कित्ताकाट भएका छन् भन्ने चर्चा छ । तर सचिव महासेठ यि सबै कुरा भ्रम मात्रै भएको बताउनुहुन्छ । एमालेको राजनीतिमा पूर्वराष्ट्रपति भण्डारी अध्यक्ष ओलीकै निर्देशन र सहमतिमा अघि बढ्ने पनि महासेठले खुलासा गर्नुभएको छ ।
पूर्वराष्ट्रपतिलाई सक्रिय राजनीतिमा फर्किन संविधानले नरोकेको पनि महासेठको भनाइ छ । ’हाम्रो संविधानले पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउनु हुँदैन,त्यस्तो कुनै बन्देज गरेको छैन । न त हाम्रो पार्टीको विधानले बन्देज गरेको छ । हाम्रो सचिवालयमा पनि यसमा छलफल भएकै हो । यदी उहाँ सक्रिय राजनीतिमा आउन चाहनुहुन्छ भने हामीले किन रोक्ने ?,’ महासेठको तर्क छ । राजनीतिमा आउने÷नआउने भन्ने कुरा पूर्वराष्ट्रपति भण्डारीको व्यक्तिगत विषय भएको एमाले नेताहरु तर्क गरिरहेका छन् ।
अब राजनीति गर्छु भनेर भण्डारीले पार्टी सदस्यता रिन्यू गरेको तर उहाँले पार्टीभित्र अन्तरविरोध बढाउने काम नगरेको दाबी एकातर्फ छ । पार्टीका केही नेताहरुले मात्र अन्तरविरोध बढाउने काम गरेको र पूर्वराष्ट्रपति भण्डारीलाई विवादमा ल्याएको तर्क गरिएको छ । नेकपा (एमाले) कि सचिव पद्मा अर्याल आफ्नो पार्टीको आन्तरिक मामलामा मिडियाले धेरै चासो लिएको अडानमा हुनुहुन्छ । पूर्वराष्ट्रपति भण्डारीलाई एमालेले सम्मान गर्न पनि नपाउने ? भन्दै अर्याल प्रश्न गर्नुुहुन्छ ।
पहिला पार्टीको वरिष्ठ नेतृ भएकाले राजनीतिमा आउनु स्वाभाविक भएको अडान पनि पार्टीका कतिपय नेताहरु गर्दछन् । पार्टी भित्र वहस गर्ने बेला आए त्यतिवेलै गर्ने भन्दै सचिव अर्याल नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको मुल नेतृत्व चयन सर्वसम्मत हुने दाबी पनि गर्नुहुन्छ । त्यसो त, पछिल्लो समय पूर्वराष्ट्रपति भण्डारी एमालेको पार्टी राजनीतिमा फर्किने बिषयमा चर्चा र आलोचना दुवै जारी छन् ।
यहि प्रसंगमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले केहिदिन पहिले नेकपा एमालेमा संकट बढ्दै गएको बताउनुभएको थियो । जुनसुकै रुपमा बचाउन खोजिएपनि ‘नेपालको राजनीतिमा मूल कम्युनिस्ट पार्टी भनिएको नेकपा एमाले भित्र पूर्वराष्ट्रपति भण्डारी एकदशकपछि सक्रिय राजनीतिमा फर्किएपछि माहोल परिवर्तन भएकै छ ।
विसं २०७२ साल कार्तिक १८ गते पहिलोपटक राष्ट्रपति बन्नुअघि भण्डारी नेकपा एमालेको उपाध्यक्ष हुनुहुन्थ्यो । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वलाई निरन्तरता दिने चाहना व्यक्त गरिरहेका बेला भण्डारीको सक्रियताले एमालेभित्र नयाँ बहस सिर्जना गरेको छ । मुलुककै अभिभावक भइसकेको व्यक्तिले फेरि सक्रिय राजनीतिको रहर गर्न नहुने आलोचना सहितका तर्क पनि अहिले पूर्वराष्ट्रपति भण्डारीमाथि आईरहेका छन् ।