काठमाडौं । गृहमन्त्री रमेश लेखकले समृद्ध नेपालका लागि हालसम्म भएका परिवर्तनहरूको रक्षा अपरिहार्य रहेको बताउनु भएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति बैतडीले आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री लेखकले पछिल्ला ७० वर्षमा नेपालमा सात वटा संविधान परिवर्तन भइसकेको स्मरण गराउँदै वर्तमान संविधानलाई कार्यान्वयन गर्नेतर्फ सबैको ध्यान जानु पर्ने बताउनुभयो ।
उहाँले राजनीतिक स्थायित्वका लागि नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन आवश्यक भएको भन्दै अहिलेको सरकार सात बुँदे सहमति अनुसार अगाडि बढिरहेको जानकारी दिनुभयो । उहाँले गठबन्धनका आधारमा आगामी चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने पनि स्पष्ट पार्नुभएको छ ।
सरकारप्रति आएका गुनासाहरूलाई सम्बोधन गर्न सरकार सक्रिय रहेको उल्लेख गर्दै उहाँले केही साना समस्या भए पनि ती समाधान गर्दै सरकार अगाडि बढिरहेको जानकारी दिनुभयो ।