काठमाडौं । निजामती विधेयकको ‘कुलिङ पिरियड’ मा भएको छेडखानीको चौतर्फी आलोचना र छानबिनको माग उठिरहँदा आज राज्य व्यवस्था समितिको आकस्मिक बैठक बस्यो । बैठकमा समितिले पास गरेभन्दा फरक ढंगले प्रतिवेदन पठाइएको भन्दै समिति सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुराको राजीनामा माग समेत भएको छ ।
बैठकमा सभापति खतिवडाले उक्त प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको भन्दै आफ्नो नाम जोडिएको विषयमा आपत्ति जनाउनुभयो। उहाँले छानबिनका क्रममा आफ्नो संलग्नता पुष्टि भए जस्तोसुकै कारबाही भोग्न तयार रहेको बताउनु भएको थियो । बैठकमा समिति सदस्यहरूले कुलिङ पिरियड प्रकरणमा समिति सभापतिले नैतिकरूपमा मार्गप्रशस्त गर्नुपर्ने भनाई राखेका थिए ।
नेकपा एमालेका नेता एवं पूर्वकानूनमन्त्री पदम गिरीले बैठकमा नेकपा एमालेका नेता एवं पूर्वकानूनमन्त्री पदम गिरीले समितिले पास गरेभन्दा फरक ढंगले प्रतिवेदन पठाइएको भन्दै समिति सभापति खतिवडा र सचिव दुराको राजीनामा माग्नु भएको हो । सभापति र सचिवको हस्ताक्षर भएकाले जस्ताको त्यस्तै पठाउने दायित्व समितिको भएपनि सभापतिबाट गैरजिम्मेवारपूर्ण जवाफ आएकोे टिप्पणी गरिएको छ ।
नेपालको संसदीय इतिहासमा यो घटना कालो धब्बा भएकाले कसैले जिम्मेवारी नलिने हो भने सधैँभरी यस्तो अवस्था आइरहने तर्क बैठकमा गरिएको छ । यता,प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले निजामती सेवा विधेयकमाथि भएको षड्यन्त्रमा संलग्न सबैमाथि कारबाही हुनु पर्ने माग गरेको छ ।
राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक रहेका हितराज पाण्डेले समितिका सभापति, सचिवदेखि सबैमाथि गम्भीर छानबिन गर्नु पर्ने माग गर्नुभयो । ‘सानोतिनो षड्यन्त्र नभई संसद्लाई बदनाम गर्ने गरी ठूलो षड्यन्त्र भएको छ,’ सांसद पाण्डेले भन्नुभयो, ‘यसलाई यसै छाड्न हुँदैन । उच्चस्तरीय संसदीय छानबिन समिति बनाउनु प¥यो । सभापतिदेखि सबैमाथि छानबिन गर्नु प¥यो र दोषीमाथि कडा कारबाही गर्नुप¥यो ।’
नेकपा माओवादी केन्द्रले सङ्घीय निजामती सेवा विधेयक–२०८० मा व्यवस्था भएको ‘कुलिङ पिरियड’ लाई निष्प्रभावी बनाएको विषयमा छानबिन गर्न माग गरेको छ । आज केन्द्रीय कार्यालय पोरिसडाँडामा प्रवक्ता अग्निप्रसाद सापकोटाले पत्रकार सम्मेलन गरी विधेयकमा भएको चलखेलबारे छानबिन गर्न माग गर्नुभएकोहो ।
यसैगरि, यता प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवा सम्बन्धी विधेयकमा राखेको ’कुलिङ अफ पिरियड’को व्यवस्थामाथि जालझेल गर्नमा मुख्यसचिव एकनारायण अर्याल र अन्य सचिवहरूले भूमिका खेलेका हुन् कि भन्ने लागिरहेको एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेको दाबी छ ।
राज्यव्यवस्था समितिको बैठकमा सांसद पाण्डेले मुख्यसचिव र सचिवहरूले विधेयकमा राखिएको ’कुलिङ अफ पिरियड’को व्यवस्था निष्प्रभावी पार्न भूमिका खेलेका हुन् कि भन्ने शंका भइरहेको दाबी गर्नुभयो । विधेयकमाथि जालझेल गर्ने भूमिकामा मुख्यसचिव र सचिवहरू संलग्न छन् कि छैनन् भन्नेबारे छानबिन गर्न पनि समिति गठन गर्नुपर्ने माग समेत उठेको छ ।
यता, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सहसचिव मीरा आचार्यले निजामती विधेयकबारे समितिले तयार पारेको प्रतिवेदन माग्दा नदिएको दाबी गर्नुहुन्छ । ‘कुलिङ पिरियड’ को कीर्तेबारे डाकिएको राज्य व्यवस्था समितिको आकस्मिक बैठकमा उहाँले आफूमाथि लगाइएको संलग्नताको आरोप खारेज गर्नुभयो । ‘समितिको सचिवालयको कर्मचारीलाई प्रतिवेदन दिनभरी माग्दा पनि पाइएन । त्यतिमात्रै नभएर वेबसाइटमा आउँछ भनेर सभापतिज्यूले भन्नुभएको थियो, म कसरी प्रत्यक्ष संलग्न भए ? मन्त्रालयको तर्फबाट म संलग्न भएको हो, हामीले यसलाई अन्तिम रूप दिएको होइन’, आचार्यको प्रष्टीकरण थियो ।
यता, चौतर्फी प्रश्न उठिरहँदा समितिका सभापति रामहरि खतिवडाले निजामती विधेयकको कुलिङ पिरियडमा भएको गडबडीमा आफ्नो संलग्नता रहे जस्तोसुकै सजाय भोग्न पनि तयार भएको बताउदै आउनु भएको छ । आज समितिको बैठकमा सांसदहरूले उठाएका विषयको जवाफ दिने क्रममा सभापति खतिवडाले यस्तो धारणा राख्नुभएको हो । आफ्नो नाम जोडिएको विषयमा सभापति खतिवडाले आपत्ति जनाउनु भएको छ ।
कार्यवाहक प्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले निजामती विधेयकमा कुलिङ पिरियडबारे छेडखानी गर्नेलाई कारबाही हुने बताउनुहुन्छ । उहाँले निजामती विधेयकमा तलमाथि भएको कुरामा छानबिन हुने बताउनुभएको हो । आजै आकस्मिक बैठक मार्फत प्रतिनिधिसभा अन्तर्गतको राज्य, व्यवस्था तथा सुशासन समितिले निजामती विधेयकको कुलिङ पिरियडबारे भएको गडबडी सच्याउनका लागि राष्ट्रिय सभालाई आग्रह गर्ने निर्णय गरेको छ ।
सभापति रामहरि खतिवडाका अनुसार विधेयकको उपदफा ४ ले गरेको व्यवस्था र भावनालाई कुठराघात हुनेगरी उपदफा थपिएर संसद्बाट पारित भएको कारण समितिको प्रतिवेदनको बुँदा ४३ लाई आवश्यक संशोधनको व्यवस्था मिलाउने व्यवस्थाका लागि राष्ट्रिय सभालाई आग्रह गरिएको हो ।