काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ठूला र जलाशययुक्त जलविद्युत् आयोजना निर्माणलाई सरकारको प्राथमिकतामा राखेको बताउनु भएके छ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक(२०८२’ अन्तर्गत ऊर्जा मन्त्रालयका सम्बन्धमा उठेका प्रश्नको जवाफ दिँदै ऊर्जामन्त्री खड्काले कर्णाली, माथिल्लो कर्णाली, भेरी, जगदुल्लालगायत आयोजनामा लगानी परिचालन र निर्माण अघि बढाउन सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रममार्फत प्रतिबद्धता जनाएको बताउनुभयो ।
सुदूरपश्चिम प्रदेशको बाजुरा तथा कर्णाली प्रदेशको कालीकोट, हुम्ला, जुम्ला र मुगु जिल्ला लाभान्वित हुनेगरि प्रस्तावित मुगु कर्णाली जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्ने विषय पनि सरकारको प्राथमिकतामा रहेको मन्त्री खड्काले जानकारी दिनुभयो । विद्युत् उत्पादन कम्पनी लिमिटेडद्वारा प्रवद्र्धित उक्त आयोजनाको सम्भाव्यता अध्ययन अन्तिम चरणमा पुगेको बताउँदै उहाँले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयारीको चरणमा रहेको उल्लेख गर्नुभयो ।
बूढीगण्डकी जलविद्युत् आयोजनालाई सार्वजनिक–निजी साझेदारी अवधारणामा अघि बढाइने ऊर्जामन्त्री खड्काको भनाई छ । उक्त आयोजनामा सरकारले हालसम्म गरेको पुँजीगत लगानीलाई शेयरमा परिणत गरिने बताउँदै उहाँले बूढीगण्डकीको सुदृढ वित्तीय संरचना र स्पष्ट कार्यढाँचासहित निर्माण प्रक्रिया प्रारम्भ गरिने तयारीमा सरकार रहेको दाबी गर्नुभयो । ऊर्जामन्त्री खड्काले आगामी आर्थिक वर्षको बजेटमा राखिएको ‘टेक एण्ड पे’ अवधारणामा विद्युत् खरिद गर्नेसम्बन्धी व्यवस्था संशोधन गरिएको बताउनुभयो ।
वर्षायाम सुरु भएसँगै विद्युत् उत्पादन बढेको र प्रसारण लाइनबाट बढी विद्युत् प्रवाह हुँदा भार व्यवस्थापन गर्ने क्रममा बेलाबखत विद्युत् कटौती गर्नुपरेको मन्त्री खड्काको भनाइ छ । अहिले नेपालमा खपत हुने विद्युत् पर्याप्त मात्रामा रहेको जनाउँदै उनले भारतमा समेत निर्यात भइरहेको उल्लेख गर्नुभयो । उहाँले हावाहुरी, चट्याङ, ट्रान्समिसन पड्किनेलगायत प्राविधिक कारणले मात्र विद्युत् कटौती भइरहेको जानकारी गराउनुभयो ।