काठमाडौं । प्रतिनिधिसभा बैठक विगत एक महिना यता अवरोधकै बीचमा चलिरहेको छ । आज संसद्मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्याल र कांग्रेस सांसद रामहरि खतिवडाबीच चर्काचर्की भयो। संसद्मा बोल्दै अर्यालले नेपाली कांग्रेसका सांसद खतिवडाले सुमिरे टुर एन्ड ट्राभल्सबारे दिएको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै संसदको रेकर्डबाट हटाउन माग गर्नुभएको थियो।
‘कसैको निराधार आरोप संसदको रेकर्डबाट हटिनुपर्छ’, अर्यालले भन्नुभयो । उहाँले सुमिरे टुर एन्ड ट्राभल्स आफ्नो संस्था भएको स्पष्ट गर्दै आरोपको खण्डन गर्नुभयो । अर्यालले आफूलाई अप्रत्यक्षरूपमा आरोपित गरेर खतिवडाले संसदबाट दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुख समक्ष माग गर्नुभएको छ ।
संसद बैठक सुरू भएलगत्तै सधैँजस्तो प्रतिपक्षी रास्वपा र राप्रपाका सांसदहरू आसनबाट उठेका थिए । अर्यालले हिजोको बैठकको प्रसंग निकाल्नु भएको थियो । त्यसपछि सभामुखले रास्वपाका अर्याललाई बोल्न समय दिनुभएको थियो । भिजिट भिसा प्रकरणमा संसदीय छानबिन वा उच्चस्तरीय न्यायीक आयोग गठन गर्नुपर्ने आफूहरूको माग यथावत रहेको रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले बताउनुभयो ।
गत जेठ १३ गतेदेखि रास्वपाले संसद्को कामकारबाहीमा भाग लिएको छैन । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले प्रतिपक्षी रास्वपालाई लक्षित गर्दै संसदको आकस्मिक समयको दुरुपयोग गर्ने काम भइरहेको आरोप लगाउनुभयो । संसद बैठकमा बोल्दै उहाँले जथाभावी अव्यिक्ति दिने सांसदहरूलाई बोल्नबाट वञ्चित गर्नुपर्ने माग गर्नुभयो। रास्वपा र राप्रपा मागका विषयमा सरकारले समिति बनाइसकेको अवस्थामा संसद अवरोधको औचित्य नरहेको घिमिरेको भनाइ छ ।
यता, नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्यालप्रति कटाक्ष गर्दै भन्नुभएको छ । हामीले कुनै माननीयको नाम किटान गरेर भनेका थिएनौँ । चोरको खुट्टा काट भन्दा खुट्टा झिके जसरी केही माननीयहरू प्रस्तुत हुनुभयो । हामीले कुनै पनि संस्थालाई छानबिन गर्नुपर्छ भन्दा किन ठुलो स्वरले संसद् थर्काइन्छ महोदय ? म अनुरोध गर्न चाहन्छु– कुनै बेला हामी अदालतबाट निर्दोष भएर संसद्मा प्रतिनिधित्व गरेका छौँ । तर आज दोषी भएका मानिसहरू ठुलो स्वरमा कराउँदाखेरि यहाँ आपत्ति छ खतिवडाको दाबी छ ।
आफुहरुले निष्पक्ष छानबिन हुनुपर्छ भनेको खतिवडको दाबी छ । छानबिन गरौँ दोषी छ भने कारबाही गरौँ । निर्दोष छ भने हामी उहाँलाई सफाइ दिन चाहन्छौँ । कानुनी रूपमा हिजो पनि आज पनि म्यानपावर कम्पनीलाई दलालमार्फत सुविधा दिने २०९ म्यानपावर कम्पनीलाई अवैध रूपमा सञ्चालनको अनुमति दिने को मान्छे श्रम मन्त्री थियो । त्यो छानबिन गर्न म माग गर्दछु ।खतिवडाको तर्क थियो ।
दुई दलका सांसदहरुबीच संसद्मा भनाभनको स्थिती आउदा सभामुख देवराज घिमिरेले एक अर्कामा आक्षेप लगाउने गरि बोल्न उचित नहरने भन्दै ध्यानाकर्षण गराउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा बैठकमा अवरोध जारी राखेको छ ।भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपाले संसद् अवरोध गर्दै आइरहेको छ ।
भिजिट भिसा प्रकरणको छानबिन गर्नका लागि भन्दै सरकारले पूर्वमुख्यसचिव शंकरदास बैरागी नेतृत्वको उच्चस्तरीय छानबिन समिति बनाएको छ । यद्यपि उक्त समिति स्वीकार नगर्ने भन्दै रास्वपा र राप्रपाले अवरोध गरिरहेका हुन् । यसैवीच प्रतिनिधि सभाको बैठक एक साताका लागि स्थगित भएको छ । आइतबार बसेको प्रतिनिधि सभाको अर्काे बैठक अव असार २३ गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको प्रतिनिधी सभाका सभामुख देवराज घिमिरेले जानकारी गराउनुभयो ।