काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंहह भण्डारीले रोजगारीका लागि प्रविधिको प्रयोग गर्न सक्ने सीपयुक्त दक्षजनशक्ति तयार गर्नुपर्ने बताउनु भएको छ । शुक्रवार मन्त्रालयमा आयोजित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, वैदेशिक रोजगार बोर्ड र हेल्भेटास नेपालबीच समझदारी पत्र हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले विश्वको बदलिँदो परिवेशमा प्रविधि प्रयोगको ज्ञान, सीप र क्षमता भएका दक्ष शक्ति उत्पादन गर्न सके रोजगारीको लागि धेरै चिन्ता गर्नु नपर्ने बताउनु भएको हो ।
मन्त्री भण्डारीले अब श्रमको बारेमा अध्ययनको आवश्यकता रहेको विषयमा जोड दिँदैँ काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा डिप्लोमा इन लेवर स्टडिज कोर्ष सञ्चालन गर्ने गृहकार्य र छलफल अगाडि बढी रहेको दाबी गर्नुभयो । उहाँले सूचनाको अभावमा स्वदेशी होस वा वैदेशिक रोजगारीका लागि उपलब्ध भएका अवसरहरू पनि सही सदुपयोग गर्न नसकेको अवस्थालाई चिर्नका लागि सूचना पु¥याउने निकायहरूलाई सक्षम बनाउनु पर्नेमा जोड दिनु भएको छ ।
मन्त्रालयले दिने सबै सेवाहरू एकीकृत रूपमा प्रवाह गर्नका लागि ७ सय ५३ स्थानीय तहबाट स्थापना गरिएको रोजगार सेवा केन्द्र मार्फत सूचना प्रवाह गर्ने काम भई रहेको बताउँदै उहाँले श्रम मन्त्रालयबाट प्रवाह हुने सबै सेवाहरूलाई डिजिटलाइलेसन गर्ने प्रक्रियामा अगाडि बढी रहेको बताउँनुभयो ।
नेपालमा पहिलो पटक राष्ट्रिय आप्रवासन नीति करिब करिब टुंगिने अवस्थामा पुगेको जानकारी गराउँदै छिट्टै मन्त्रिपरिषद्बाट पारित हुने विश्वास मन्त्री भण्डारीको भनाई छ । सोही अवसरमा श्रम, रोजगार तथा आप्रवासन सम्बन्धमा क्षमता विकास लागि स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, वैदेशिक रोजगार बोर्ड र हेल्भेटास नेपालबीच त्रिपक्षीय एक समझदारी पत्रमा हस्ताक्षर समेत गरिएको छ ।