काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमा भएको निर्वाचनसम्बन्धी व्यवस्थाका कारण कुनैपनि पार्टीलाई बहुमत ल्याउन कठिन हुने बताउनु भएको छ । नेपाली कांग्रेस चितवनले शुक्रबार आयोजना गरेको प्रजातन्त्र सेनानी स्व गौरीदेवी प्रधानको सातौं दिनको पूण्यतिथिको अवसरमा आयोजित श्रद्धाञ्जलीसभामा उनले अहिलेको संविधानमा समावेशी र समानुपातिक व्यवस्थानले कुनै एउटा दललाई बहुमत ल्याउने अवस्था नहरेको उल्लेख गर्नुभएको हो ।
नेपाली कांग्रेस बलियो बनाउने बाहेक अन्य सोच आफूमा नरहेको बताउँदै देउवाले कांग्रेसभित्रको रोग हटाउन आवश्यक रहेको र सच्चा मनले एक भए संविधानलाई बचाउँदै एकल बहुमत ल्याउनसक्ने पार्टी बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय कोषाध्यक्ष उमेश श्रेष्ठले नेपाललाई सम्बृद्ध बनाउने पार्टी कांग्रेस भएको बताउनुभयो ।
यस्तै सभापति देउवाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीविरुद्ध झुटा आरोप लगाउने प्रयास भएको उल्लेख गर्नुभयो । उहाँले कांग्रेस र एमाले फरक फरक दल भएकाले कतिपय निर्णयमा एकमत नहुनु सामान्य कुरा भएको बताउनुभयो । सभापति देउवाले कांग्रेसको आग्रह पछि टेक एन्ड पे हटाएको भन्दै यसलाई सामान्य रूपमा लिन आग्रह समेत गर्नुभयो ।