काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको पूर्वाधार विकासको लागि निजी क्षेत्र र वैदेशिक लगानी परिचालन गर्न अत्यावश्यक रहेको बताउनुभएको छ। प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक तथा खर्च कटौतीको प्रस्तावको सम्बन्धमा राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका विभिन्न निकायसँग सम्बन्धित छलफलमा उठेका प्रश्नको जवाफ दिँदै सार्वजनिक निजी साझेदारीबाट राजस्व परिचालनमा सहयोग पुग्ने र स्वदेशी तथा विदेशी निजी लगानी परिचालनबाट पूर्वाधार विकास गर्न सकिने बताउनुभएको हो ।
‘मुलुकको पूर्वाधार विकासको लागि लगानी परिचालनको आवश्यकता उच्चतम् रहेको तर सरकारी बजेटबाट मात्र लगानी जुटाउन नसकिने अवस्थामा निजी क्षेत्र र वैदेशिक लगानी परिचालन गर्न अत्यावश्यक रहेको छ।’ ओलीले भन्नुभयो, ‘मुलुकको राजस्व परिचालनमा दबाब उत्पन्न हुँदै गरेको र सार्वजनिक ऋण उकालो लाग्दै गरेको सन्दर्भमा सार्वजनिक निजी साझेदारीबाट राजस्व परिचालनमा सहयोग पुग्ने र स्वदेशी तथा विदेशी निजी लगानी परिचालनबाट पूर्वाधार विकास गर्न सकिने वर्तमान परिप्रेक्ष्यमा लगानी बोर्ड खारेज हैन थप सशक्त र अन्तर्राष्ट्रियस्तरको संस्थाको रूपमा विकास गर्नुपर्ने आवश्यकता रहेको प्रष्ट पार्न चाहन्छु।’ उहाँले भन्नुभयो ।