काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ। सिंहदरबारमा भएको भेटमा दुई पार्टीका अध्यक्षसहित अन्य शीर्ष नेताहरू पनि सहभागी थिए।
छलफलमा माओवादीबाट प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ र नेकपा एसबाट अध्यक्ष नेपालसहित वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव घनश्याम भुसाल पनि सहभागी थिए।
छलफलमा सरकारले हिजो गठन गरेको भिजिट भिसा प्रकरणमा छानबिन गर्न बनेको समितिबारे छलफल भएको नेकपा एसका नेता पाण्डेले बताउनुभयो । ‘भिजिट भिसाबारे हामीले संसदभित्र पनि सङ्घर्ष ग¥यौँ। अहिले समिति बनाएको छ सरकारले, संसदभित्रको गतिविधिकोबारे दुई दलबीच छलफल भयो।’ उहाँले भननुभयो ।
माओवादी र नेकपा एससहित दुई दलबीच भएको सहमति अनुसार सरकारले हिजो शंकरदास वैरागीको नेतृत्वमा समिति गठन गरेको थियो । तर, यो समितिप्रति रास्वपा र राप्रपाले असन्तुष्टि राख्दै आज पनि सदन अवरोध र बहिस्कार गरेका थिए ।