काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति बिनै आज स्थापना दिवस मनाएको छ । रवि लामिछानेको बचाउ र भ्रष्टाचारविरुद्ध खबरदारी गरेर रास्वपाले स्थापना दिवश मनाएको हो । पार्टी स्थापना भएको तीन वर्ष पुगेको अवसरमा रास्वपाले माइतीघरमा सभापतिलाई प्रतिसोध राखेर कानुनी झमेलामा फसाएको भन्दै हस्ताक्षर संकलन गरेको छ ।
यसअघि वृहत कार्यक्रम गरेर स्थापना दिवस मनाउने रास्वपाले यसपटक सभापति थुनामा भएकोले सडकमा हस्ताक्षर संकलन गरेर मनाएको हो। रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद डिपी अर्यालले नेपालमा सुसंकृत राजनीति गर्न सडकदेखि सदनसम्म रास्वपाले अन्य दललाई र जनतालाई सिकाएको दाबी गर्नुहुन्छ । सभापति लामिछानेमाथि सरकारले साँधेको प्रतिसोधविरुद्ध लाखौ हस्ताक्षर संकलन गरिने उपसभापति स्वर्णिम वाग्लेको भनाई छ ।
उहाँले रास्वपाको चमत्कारिक उदयसँग डराएर सरकार अत्तालिएको र रास्वपाको गति रोक्न सकिन्छ कि भनेर सरकारले सभापतिलाई कानुनी झमेलामा पारेको बताउनुभयो । उपसभापति वाग्लेले रास्वपा मूलधारे राजनीतिको निर्णायक शक्ति नबनुन्जेल आन्दोलन नरोकिने बताउनुहुन्छ । पार्टीले सुरू गरेको आन्दोलन र अभियान अनन्त जाने दाबी उपसभापति वाग्लेको छ ।
रवि लामिछानेले न्याय पाउनका लागि पनि रास्वपा राजनीतिक रूपले बलियो हुनुपर्ने अपरिहा¥यता रहेको रास्वपा दाबी गर्दछ । रास्वपाले रास्वपा स्थापनाको मुख्य उद्देश्य देशको नीति परिवर्तनका लागि भएको बताएको छ । बन्द कोठाभित्र निजी मन्थन नगरौं भनेर नै सडकमा ऐक्यवद्धता गर्न र लुटतन्त्रविरुद्ध खबरदारी गर्दै सडकदेखि सदनसम्म आवाज उठाउनकै लागि पार्टी स्थापनाका दिन पारेर सबैलाई सडकमा आउन आह्वान गरेको रास्वपाको भनाई छ ।
रवि लामिछानेलाई सिध्याउने खेलमा झुटो मुद्दा लगाएको आरोप लगाउँदै २०८४ पछि लुटतन्त्र खारेज र सुसंस्कृत राजनीतिको सम्बद्र्धन गर्ने उद्घोष रास्वपाको छ । यता, सदन र सडकमा सभ्यता सिकाउने राष्ट्रिय स्वतन्त्र पार्टीलाई नेकपा एमालेका सचिव योगेश भट्टराई अरूलाई प्रश्न उठाउनुभन्दा आफूहरूलाई हेर्न सुझाउनुहुन्छ ।
‘उहाँहरूलाई एकदमै शुभकामना व्यक्त गर्न चाहन्छु, उहाँहरूले अरू पार्टीमाथि टिप्पणी उठाइरहनु भएको छ, कांग्रेस बिग्रियो, एमाले बिग्रियो । म उहाँहरूलाई भन्न चाहन्छु हामी त बन्न पनि समय लाग्यो । बिग्रेछौँ भने पनि समय लाग्छ । तपाईँहरू त छिट्टो बन्नुभयो, छिट्टै बिग्रँदै हुनुहुन्छ । त्यो ख्याल गर्नुहोला । समीक्षा गर्नुहोस् राम्रोसँग ।’ भट्टराईको टिप्पणी छ ।
आज नै ,रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले आफूविरुद्ध आरोपहरू नियोजित षड्यन्त्र भएको बताएका छन् । लामिछानेले एक सार्वजनिक अपिलमार्फत आफूमाथि लगाइएका आरोपहरूलाई खण्डन गर्दै हालको घटनाक्रमलाई राष्ट्रप्रेमी र नयाँ सोच बोकेका नेताहरूलाई हटाउने योजनाको हिस्सा भनेका छन्।
लामिछानेका अनुसार केही गुटले विगत तीन वर्षदेखि योजनाबद्ध रूपमा आफ्ना चरित्र हत्या अभियान सञ्चालन गर्दै आएका छन्। उनले सो अपिलमार्फत जनतालाई धैर्य गर्न आग्रह गर्दै भनेका छन्, ‘म फेरि जनताको बीचमा आइ जिम्मेवारी वहन गर्न तयार छ ु।अहिलेको यो चक्रब्युह मलाई जनताबाट अलग पार्न बनाइएको हो।’