काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओलीको संसदमा सांसदसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम थियो तर, रास्वपा र राप्रपाको अवरोधका कारण स्थगित भयो । रास्वपाले विरोध जारी राखेपछि सभामुख देवराज घिमिरेले प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाउनु परेको थियो ।
सभामुख घिमिरेले विरोधमा उभिनुभएका सांसदहरुलाई विनियोजन विधेयकमाथिको छलफल सक्नुपर्ने र प्रश्न उत्तरलगायतका कार्यक्रम अगाडि बढाउनुपर्ने भएकाले त्यसका लागि उपयुक्त वातावरण बनाउन आग्रह गर्नुभएको थियो । तर, सभामुखको आग्रहलाई अवज्ञा गर्दै रास्वपा र राप्रपाका दुवै पार्टीका सांसदहरु आफ्नो आसनमा नबसेपछि सभामुखले प्रधानमन्त्री ओलीले सांसदहरुको प्रश्नको जवाफ दिने कार्यक्रम कार्यसूचीबाट हटाइएको जानकारी दिनुभयो ।
प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले सरकारका कारण सदनको कामकारबाही प्रभावित भएको आरोप लगाएको छ । प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारका मन्त्रीहरू समयमा नै सदनमा उपस्थित नहुँदा सदनको कार्यसूची प्रभावित भएको भन्दै सरकारले सदनलाई हेपेको आरोप लगाउनुभयो ।
सरकारकै कारण संसद्को कार्यसूची आउने र पछि कार्यसूचीमा आएको विषय हटाउने काम भइरहेको उहाँको भनाई छ । उहाँले बजेटको मन्त्रालयगत छलफलमा सम्बन्धित मन्त्रीहरू उपस्थित नहुनुले प्रतिनिधिसभाको नियमावलीको उलङ्घन भएको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।
यता, रास्वपाका सांसदहरुले आफ्नो पार्टीले उठाउँदै आएका विषयवस्तु प्रधानमन्त्रीलाई सुनाउन नपाएको भन्दै बैठक बहिष्कार गर्नुपरेको बताउछन् ।
‘भिजिट भिसा’ प्रकरणको बिषय उठाई संसद्मा विरोध जनाउँदै आएको सो पार्टीले आजको बैठकमा आफ्नो कुरा राख्न नपाउने र प्रधानमन्त्रीलाई सुनाउन नपाएको भन्दै बैठक बहिष्कार गर्नुपरेको बताएको हो । सांसद सोबिता गौतम सरकार प्रश्नबाट भागेको बताउनुहुन्छ । सांसद गौतमले प्रधानमन्त्रीलाई प्रश्न नउठाए कसलाई उठाउने ? भन्दै प्रश्न गर्नुहुन्छ ।
यता,सत्तारुढ दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी दलसँग भएको सहमति अनुसार सदन अघि बढ्ने बताउनुभएको छ । संसदीय मान्यतामा दल र व्यक्ति पिच्छेसँग सरकारले सम्झौता गर्दै नहिँड्ने टिप्पणी उहाँको छ । माओवादीसँग भएको सहमति अनुसार भिजिट भिसा प्रकरणको छानबिन हुने उहाँले बताउनुभयो ।
यस्तै उहाँले रास्वपाले स्टन्ट गरेर नीलो रिबन र कालो लुगा लगाएर आएको आरोप पनि लगाउनुभएको छ । रास्वपा सांसदहरूको गतिविधिलाई केटाकेटीको संज्ञा दिँदै यस्तै प्रवृत्ति देखाइरहे रास्वपा स्वयमलाई निल्ने बर्तौलाको जिकिर छ ।
प्रतिनिधिसभामा आज प्रधानमन्त्री केपी ओलीसँग सांसदको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको कार्यसूची राखिएको थियो । प्रश्नोत्तरको कार्यक्रम कार्यसूचीबाट हटाइएपछि ओली संसद् बाहिर निस्किनुभयो। त्यतिबेलै सञ्चारकर्मीले ‘आज संसदमा तपाइँले नै बोल्न पाउनु भएन हैन ?’ भन्दै प्रश्न गरेका थिए । जवाफमा ओलीले हलबाहिर रहेका सञ्चारकर्मीलाई उल्टै प्रश्न गर्नुभयो, – ‘मज्जा लाग्यो ?’
आज संसदमा प्रश्नोत्तर बाहेक ६ वटा मन्त्रालयको विनियोजनमाथि छलफलको कार्यसूची थियो । त्यसमध्ये युवा तथा खेलकुद एवं महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका मन्त्री उपस्थित नभएकोले सो समेत कार्यसूचीबाट हटाइयो । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर नाराबाजीसहित विरोध जनाएका छन् । उनीहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्न समिति गठनको माग गर्दै आइरहेका छन्। उनीहरूले समिति गठनको माग गर्दै जेठ १३ गतेदेखि सदन अवरुद्ध गर्दै आइरहेका छन्।
आज रास्वपाका सांसदहरू कालो पोसाक र निलो रिबन भिरेर सदनमा वेल घेराउ गर्न पुगेका थिए। विरोधपछि सभामुखले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचिबाट हटाइएको सुनाउनुभयो। त्यसपछि प्रधानमन्त्री बैठककक्षबाट बाहिरिनुभएको थियो । प्रधानमन्त्री बाहिरिएसँगै रास्वपा र राप्रपाका सांसद पनि बाहिरिएका थिए।