काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विज्ञान प्रविधिमा आधारित उद्यमशीलताको विकासका लागि राज्यले पहल गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय युवा परिषद्ले आज ललितपुरमा आयोजना गरेको युवा वैज्ञानिक सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले वैज्ञानिक अनुसन्धान र प्रविधिमा आधारित उद्यमशीलता विकासका लागि राज्यको स्पष्ट नीति, पर्याप्त लगानी, सहकार्य प्रणाली र पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिनुभएको हो ।
‘वैज्ञानिक अनुसन्धान तथा आविष्कारका क्षेत्रमा नेपालले अन्तरराष्ट्रियस्तरमा उल्लेखनीय उपलब्धि हासिल गर्न सकिरहेको छैन, अनुसन्धान अनुकूल संरचना र पूर्वाधारको अभाव, सरकारी लगानीको न्यूनता र नवप्रवर्तनलाई व्यवसायमा रूपान्तरण गर्ने प्रणालीको अभाग रहेकाले ती समस्या समाधान गर्न राज्य गम्भीर हुनुपर्छ’, उहाँले भन्नुभयो ।
अध्यक्ष दाहालले सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, सामाजिक सञ्जाल विधेयक, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, मिडिया काउन्सिललगायत विधेयकहरू सङ्घीय संसद्मा छलफलका क्रममा रहेकाले यथाशीघ्र पारित हुने विश्वास व्यक्त गर्नुभएको छ ।
विज्ञान तथा प्रविधिमा आधारित राष्ट्र निर्माणको सन्दर्भमा युवाको भूमिका अपरिहार्य रहेको र युवा वैज्ञानिकहरूलाई सिर्जनशील सोच, प्रयोगशील क्षमता र अनुसन्धानमूलक प्रवृत्तिमा अझ प्रोत्साहित गर्न आवश्यक रहेको अध्यक्ष दाहालको भनाई रहेको छ ।