काठमाडौं । सरकारले असार १६ गतेदेखि हुने प्रधानमन्त्रीको स्पेनको औपचारिक भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको छ । बुधबार सिंहदरबारमा असार २ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले असार १६ गतेदेखि २१ गतेसम्म प्रधानमन्त्रीको नेतृत्वमा स्पेनको औपचारिक भ्रमणका सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय भएको जानकारी दिनुभएको हो । प्रधानमन्त्रीको नेतृत्वमा २१ सदस्य प्रतिनिधिमण्डल स्पेन जाने उहाँले बताउनुभयो ।
मन्त्रिपरिषद्ले पुल सुधार तथा मर्मत कार्यक्रम तेस्रो चरणका लागि विश्व बैंकबाट प्राप्त हुने करिब २० अर्ब ७९ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने पनि निर्णय गरेको छ ।
त्यस्तै दक्षिण कोरिया सरकारबाट बर्दिया जिल्लामा सञ्चालन हुने समावेशी ग्रामीण विकास परियोजनाका लागि प्राप्त हुने करिब १ अरब ८ करोड ८० लाख नेपाली रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने र विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थासँग रणनीतिक सडक सञ्जाल तथा व्यापारिक मार्ग सुधार आयोजनाका लागि करिब २९ अर्ब ७२ करोड नेपाली रुपैयाँ बरावरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताउनुभयो ।
बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव पाराश्वर ढुङ्गानालाई कानून मन्त्रालयको सचिव पदमा सरुवा गर्ने निर्णय भएको उहाँको भनाई छ । प्रवक्ता गुरुङले निजामती विधेयकलाई रोक्नुपर्ने कुनै कारण नभएको भन्दै प्रतिनिधिसभामा पेश भएर छलफल भएपछि पारित हुने बताउनुभयो ।