Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

रास्वपा र राप्रपाको विरोधकाबीच संसद् बैठक अगाडि बढ्यो, बजेट प्रस्तुत गरेको १७ दिनपछि सैद्धान्तिक छलफल प्रारम्भ, सदनमा आफूहरुको विरोध जारी रहने रास्वपाको अडान (खास खबर)

रास्वपा र राप्रपाको विरोधकाबीच संसद् बैठक अगाडि बढ्यो, बजेट प्रस्तुत गरेको १७ दिनपछि सैद्धान्तिक छलफल प्रारम्भ, सदनमा आफूहरुको विरोध जारी रहने रास्वपाको अडान (खास खबर)

  • आइतवार, आषाढ १ २०८२

  • 751
    SHARES

  • रास्वपा र राप्रपाको विरोधकाबीच संसद् बैठक अगाडि बढ्यो, बजेट प्रस्तुत गरेको १७ दिनपछि सैद्धान्तिक छलफल प्रारम्भ, सदनमा आफूहरुको विरोध जारी रहने रास्वपाको अडान (खास खबर)

    काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसदमा नाराबाजी गरेपनि सभामुख देवराज घिमिरेले विरोधका बीच संसदको नियमित कार्यसुचिलाई अगाडी बढाउनुभयो ।

    विरोधकै बीचमा सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट प्रस्तुत गरेको १७ दिनपछि आजबाट प्रतिनिधिसभामा बजेटमाथिको सैद्धान्तिक छलफल प्रारम्भ भएको छ । जेठ १५ गते संसद्मा बजेट प्रस्तुत भए पनि प्रमुख प्रतिपक्षी दलको अवरोधका कारण छलफल अघि बढ्न सकेको थिएन ।

    आज बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेपछि छलफल सुरु भएको हो । छलफलको प्रारम्भमा बोल्दै अर्थमन्त्री पौडेलले वर्तमान आर्थिक चुनौतीहरूलाई सम्बोधन गर्दै अर्थतन्त्रलाई सही दिशा दिन बजेट ल्याइएको बताउनुभयो ।

    संसद् बैठकमा अवरोध गरे पनि सभामुख देवराज घिमिरेले आजको बैठक अगाडि बढाउनु भएको थियो । संसद् सुरु हुनासाथ उठेर विरोध जनाएका रास्वपा र राप्रपाका सांसदको नाराबाजीका बीच सभामुख घिमिरेले सांसदलाई बोल्न दिनुभएको थियो ।

    बैठक बस्नुअघि सभामुख घिमिरेले प्रमुख दलका मुख्य सचेतक र प्रमुख सचेतकहरूसँग छलफल गर्नुभएको थियो । रास्वपा र राप्रपा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका छन् ।

    भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभामा विरोध जारी राख्ने आज बैठक वस्नु अगाडि नै भनेको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले झुक्याएर दुई बुँदे सहमति गरेको भन्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सदनमा आफूहरुको विरोध जारी रहने बताउनुभएको हो ।

    विपक्षी दल राप्रपाले आजको प्रतिनिधिसभा बैठक बहिष्कार गरेको छ । विरोधका बीच पनि सभामुख देवराज घिमिरेले बैठक चलाएको भन्दै राप्रपाले बैठक बहिष्कार गरेको हो । राप्रपाले सदनमा अवरोध भएका बेला कारबाही अगाडि नबढाउन आग्रह गरेको थियो । त्यसअघि राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले विरोधका बीच संसद् बैठक चलाइएको भन्दै आपत्ति जनाउनुभएको थियो ।

    यता, गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद्मा नाराबाजी गरेपछि कांग्रेस सांसदहरू रास्वपाप्रति आक्रोशित बनेका छन् । प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरे र सांसद नागिना यादवले रास्वपा सभापति रवि लामिछानेबारे प्रश्न गर्नुभएको थियो । आकस्मिक समयमै सचेतक घिमिरेले सहकारी ठगीको मुद्दा लागेको व्यक्तिलाई नहटाएर अरुलाई नैतिकताको पाठ सिकाउनु हाँस्यास्पद भएको बताउनुभयो ।

    नाराबाजीबीच संसद् कार्यसूचीमा प्रवेश गरेपछि नेकपा एकीकृत समाजवादीले नियमापत्ति गरेको थियो । कांग्रेस सांसद डाक्टर प्रकाशशरण महतले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू बजेटका तमाम विषयको छलफलमा सहभागी नभएर एउटा महत्त्वपूर्ण अवसर गुमाएको बताउनुहुन्छ ।

    प्रतिनिधिसभा बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद डा. महतले बजेट वर्षमा एक पटक आउने र बजेटको तमाम विषय चिरफार गर्नुपर्ने समयमा आन्दोलन गरेर उक्त अवसर गुमाएको बताउनुभएको हो । मुलुकको वित्त व्यवस्थापनका कुराहरू बजेटले बोल्ने भएकाले तथ्यहीन विषयमा आन्दोलन गरिरहनुको कुनै औचित्य नभएको टिप्पणी सत्तापक्षको छ । तर, रास्वपा र राप्रपा संसद्मा विरोध गरेका छन् । यसअघि, संसद खुलाउनका लागि सत्ता पक्ष र प्रतिपक्षी बिचमा २ बुदेँ सहमति भएको थियो ।

    नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘रास्वपा र आफ्नो पार्टीबीच मुलभुत बिषयमा केही फरक नभएको र रास्वपा केही समय आफ्नो ढंगले जाने बताउनु भएको थियो । तर,माओवादी केन्द्रले झुक्याएर दुई बुँदे सहमति गरेको भन्दै रास्वपाले आपत्ती जनाउदै संसद्मा विरोध जनाएको हो ।


    आइतवार, आषाढ १ २०८२०७:२८:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij