काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्ने बताउनु भएको छ । राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघले शुक्रबार कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले मुलुकका सबै तहमा राजनीतिक तहमा सबैको प्रतिनिधित्व सुनिश्चित गर्दै समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्ने बताउनु भएको हो ।
समावेशी नेतृत्व विकासका लागि पार्टीको घोषणापत्र दस्ताबेजहरूमा अपांगता सवालहरू स्पष्ट उल्लेख गर्नुपर्ने बताउँदै उहाँले अबको बाटो संकल्प र कार्यान्वयनको भएकाले कुरामा नभई काममा ध्यान दिनुपर्ने जिकिर गर्नुभयो ।
उहाँले समावेशी नेतृत्व विकासका लागि व्यारियर फ्रि लिडरसीप जस्ता कार्यक्रम बिस्तार गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै सभापति देउवाले पार्टी कार्यालयलाई पूर्णरुपमा अपाङ्गमैत्री बनाउने प्रतिबद्धता समेत जनाउनुभयो ।