काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसन्धान र अभियोजनलाई प्रविधिको प्रयोगसहित प्रमाणयुक्त र प्रभावकारी बनाएर न्याय निरूपणमा सघाउन आग्रह गर्नुभएको छ । आज काठमाडौंमा अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अभियोजन र प्रमाणहरूका तथ्यले दुविधारहितरुपमा न्याय सम्पादन हुन सक्ने गरी अनुसन्धान र अभियोजन गर्न आग्रह गर्नुभएको हो ।
मनवोचित र न्यायपूर्ण समाज सृजना गर्न समयानुकूल कानुनको निर्माण र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको र त्यसका लागि उचित स्रोत, साधनसहित दीक्षित, सक्षम र इमानदार जनशक्तिको खाँचो रहेको रहेको उहाँले बताउनुभयो ।
उहाँले प्रहरीमा स्वच्छता, निष्पक्षता, पारदर्शिता हुनुपर्ने भन्दै सुविधा पुगेन भनेर त्यतातिर सोच्नु नपरोस् भनेर सरकारले सेवा सुविधामा आवश्यक ध्यान दिने धारणा राख्नुभएको छ।
प्रहरीको त्रृटीरहित अनुसन्धानले नै न्याय निरूपणका लागि बाटो देखाउने प्रधानमन्त्री ओलीको भनाइ थियो । प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित दुई दिने सम्मेलनले निष्कर्षसहित घोषणापत्र जारी गर्ने बताइएको छ ।