काठमाडौं । भिजिट भिसा प्रकरणमा प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक आजदेखि सञ्चालन गर्ने तयारीमा सत्तापक्ष पुगेका छन् । सिंहदरबारमा सभामुख देवराज घिमिरे र प्रमुख तीन दलका मुख्य सचेतकको छलफलपछि कांग्रेस प्रमुख सचेत श्याम घिमिरेले प्रतिपक्षी सहमतिमा आएपनि नआएपनि संसद चल्ने बताउनुभयो ।
प्रतिपक्षीले सहयोग गरे सहज ढंगले अघि बढ्ने तर असहयोग गरे विरोधकाबीच संसद सुचारु हुने उहाँको भनाई छ । ‘उहाँहरूले असहयोग गरे अलिकति अप्ठ्यारो त होला तर संसद आजदेखि चल्छ । धेरैदिन भयो यसलाई लम्ब्याएर लान सकिन्छ । कति दिन लम्ब्याउने ? आजदेखि कार्यसूचीमा संसद प्रवेश गर्छ । आम जनतामा पनि राम्रो मेसेज दिइराखेको छैन । एकदमै निहुँ खोज्ने अर्गेल्याइँ गर्ने हिसाबले अपोजिसनका कुरा आएका छन् । सधैँ यही ढंगले अनिर्णयको बन्दी भएर बसिराख्न सकिँदैन । उहाँहरूले सहयोग गरे सुचारु हुन्छ । असहयोग गरेपनि व्यवधान त आउँछ तर संसद चल्छ,’ घिमिरेले भन्नुभयो ।
त्यस्तै एमाले प्रमुख सचेतक महेश बर्तौलाले यसअघि सूचना टाँस गरी संसद स्थगित गर्ने काम अब नहुने बताउनु भएको छ । ‘सूचना टाँस गरी बैठक स्थगित गर्ने उहाँकहरूको कुरा आजसम्म मान्दै आयौं । आज हिजोको निरन्तरता हुँदैन । हामी स्मुथ्ली आजदेखि बैठक अघि बढाउन चाहन्छौं । बजेटमाथिको छलफल आरम्भ हुन्छ, संघीय निजामती विधेयक टेबल हुन्छ,’ उहाँले भन्नुभयो ।
सहमतिका लागि पटक–पटक संसद बैठक स्थगित गरे दलहरूले निकास नदिएको भन्दै सभामुखले प्रमुख दलका सचेतकहरूसँग असन्तुष्टि जनाएका थिए ।