काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू अहिले पनि राजनीतिमा सक्रिय रहेको बताउनु भएको छ । विराटनगर महानगरपालिकाको आयोजनामा शुक्रबार विराटनगरमा सुरु भएको उपप्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय भेलालाई सम्बोधन गरेर बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्दै भण्डारीले आफू अहिले पनि राजनीतिमा सक्रिय रहेको बताउनुभएको हो ।
एमालेको अध्यक्ष बन्ने चर्चाबारे उहाँले समय आएपछि बताउने बताउनुभएको छ । फरक दलले पुरुषहरूलाई उमेदवार बनाउँदा महिलाको संख्या अपेक्षितभन्दा कम भएको उहाँको भनाइ थियो ।
संविधानले नै महिला अधिकार सुनिश्चित गरेको भए पनि दलहरूबीचको चुनावी तालमेलका कारण पुरुष उमेदवारमात्र बनाउने गरिएको उहाँले बताउनुभयो । महिला सहभागितालाई सुनिश्चित गरिनुपर्नेमा उहाँले जोड दिनुभएको छ । महिलाले जितेका धेरै स्थानीय तहमा धेरै राम्रो विकास भएको तर्क गर्दै भण्डारीले स्थानीय जनप्रतिनिधिले जनताको वितृष्णा चिर्न गतिशील भएर काम गर्नुपर्ने सुझाव दिनुभयो ।