काठमाडौं । भिजिट भिसामा अवैध असुली प्रकरणको निष्पक्ष छानबिनका लागि गृहमन्त्री रमेश लेखकले पद नछाडेसम्म संसद् चल्न नदिने अडानमा यतिखेर विपक्षी दलहरू छन् । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र र अन्य विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा माग गरी संसद् अवरोध गरिरहेका छन् । जेठ १५ गते बजेटका दिन भने संसद्मा विपक्षीहरुले कुनै अवरोध गरेनन् ।
तर,प्रतिनिधिसभा बैठक यहि जेठ २० गतेदेखि बस्नेगरि क्यालेन्डर सार्वजनिक भएको छ । विपक्षी दलहरु जेठ २० देखि बस्ने बैठक चल्न नदिने अडानमा छन् । संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार यही २० गतेबाट बजेटमाथि छलफल प्रारम्भ हुनेछ । २३ गते उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले बजेटमाथि उठेका जवाफमा प्रष्टीकरण दिनुहुनेछ । २६ गतेबाट मन्त्रालयगत छलफल र खर्च कटौतीका प्रस्तावहरू राखिएको छ ।
प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका नेता हितबहादुर तामाङले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद चल्न नदिने बताउनुहुन्छ । नेता तामाङले गृहमन्त्री लेखकसँग नैतिकता छ भने उहाँले राजीनामा दिएर मार्गप्रशस्त गरिदिन आग्रह गर्नुहुन्छ ।
छानविन नहुँदै म दोषी छैन, राजीनामा दिन्न भनेर अडानमा बस्नु नै गृहमन्त्री लेखकमाथि शंका गर्ने बाटो प्रस्टै भएको उहाँको तर्क छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शुशासनप्रति नजरअन्दाज गरिरहेको आरोप प्रमुख प्रतिपक्षीको छ । सरकारले गृहमन्त्रीको राजीनामा माग्नुको कुनै पनि औचित्य नरहेको स्पष्ट पार्दै आइरहेको छ भने विपक्षी दलहरुले एक स्वरमा राजीनामा नआएसम्म संसद ठप्प पार्ने चेतावनी दिइरहेका छन् ।
नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य राजेन्द्र कुमार केसीले उजुरीसम्म नपरेको अवस्थामा गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा राजीनामा नदिने दाबी गर्नुहुन्छ । नेता केसीले लेखकविरुद्ध उजुरी परेको अवस्थामा उहाँ गृहमन्त्री पद छाड्न तयार रहेको तर्कगर्नुहुन्छ । अहिले उक्त प्रकरणमा कहीँकतै उजुरी पनि नपरेको र यो अवस्थामा गृहमन्त्री लेखकले राजीनामा नदिने दाबी केसीको छ ।
एउटा कर्मचारीले गडबड गरेको छ भन्ने कुरा छ । त्यो गडबड गरेको अवस्थामा मन्त्रीले राजीनामा गर्दै जाने हो भने नजिर बस्छ कि ? राजीनामा गर्न नहुने कुरा त होइन भन्दै यद्यपी यस बिषयमा छलफल भइरहेको भनाई केसीको छ ।
प्रतिनिधिसभा बैठक जेठ २० गतेदेखि असार १५ गतेसम्म १९ दिन बस्ने भएको छ । सभामुख देवराज घिमिरेले बोलाएको कार्यव्यवस्था परामर्श समिति बैठकले जेठमा १० दिन र असारमा ९ दिन गरी १९ दिन सस्नेगरी क्यालेन्डर पारित गरेको हो । संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार यही २० गतेबाट बजेटमाथि छलफल प्रारम्भ हुने भनिएको छ । तर,विपक्षीको अडानले संसद् बैठक सुचारु हुनेबारे अन्यौल भने कायमै छ ।