काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आफूहरू भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामाको अडानबाट पछि नहटेको बताउनु भएको छ । विपक्षी दलहरूको तर्फबाट प्रतिनिधि सभाको बैठकमा बोल्नुहुँदै पाण्डेले संविधान कार्यान्वयन गर्ने क्रममा आफूहरू इमानदार भएकाले बजेट संसदमा पेश गर्न दिने बताउनु भएको हो ।
आज आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने र बजेट प्रस्तुत गर्ने विषयका लागि सदन अगाडि बढाउन दिने तर अरू कुनै कार्यसूची अघि बढाउन नदिने उहाँको भनाई छ ।
यस्तै यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज बजेट भाषणका लागि डाकिएको संयुक्त सदनको बैठक र त्यसअघि बस्ने प्रतिनिधिसभाको बैठकमा अवरोध नगर्ने निर्णय लिएको छ । जेठ १५ गते संसदमा बजेट प्रस्तुत गर्नैपर्ने संवैधानिक दायित्वलाई मनन गर्दै रास्वपाले सो निर्णय लिएको हो ।
आज साढे एक बजे प्रतिनिधिसभा बैठक बोलाइएको छ भने तीन बजे बजेट भाषणका लागि प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक डाकिएको छ । प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८१-८२ को आर्थिक सर्भेक्षण प्रस्तुत गर्दैछन् । त्यसपछि बस्ने संयुक्त बैठकमा उनले बजेट भाषण गर्नेछन् ।
रास्वपाका कार्यवाहक संसदीय दलका नेता विराजभक्त श्रेष्ठ संविधानले नै जेठ १५ मा बजेट ल्याउनुपर्ने व्यवस्था गरेको हुँदा एउटा जिम्मेवार दलको हिसाबले संसद अवरोध नगर्ने निर्णय लिइएको बताउनुभयो ।