काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रमाथिको प्रहारविरुद्ध एकजुट भएर प्रतिवाद गर्नुपर्ने बताउनु भएको छ । गणतन्त्र दिवसका अवसरमा माओवादी निकट नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनले आज काठमाडौँमा आयोजना गरेको जनसांस्कृतिक कार्यक्रममा प्रचण्डले अहिले गणतन्त्रमाथि प्रश्न उठाउने निरर्थक दुष्प्रयास भइरहेको भन्दै यसविरुद्ध एकजुट भएर प्रतिवाद गर्नुपर्ने बताउनुभएको हो ।
गणतन्त्र दिवस कुनै क्षेत्र वा पार्टी विशेषको नभई आम जनताको बलिदानीबाट प्राप्त भएको उपलब्धि भएको उहाँको भनाई छ । प्रचण्डले गणतन्त्रको रक्षा गर्नु र यस मार्फत जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउनका लागि प्रयत्न गर्नु अहिलेको ऐतिहासिक आवश्यकता भएको धारणा समेत राख्नुभयो ।
उहाँले गणतन्त्रको रक्षा गर्दै समाजवादको यात्रातर्फ अघि बढ्नका लागि एकताबद्ध भएर पहल गर्न जरुरी रहेकोमा जोड दिनुभयो ।