काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.६१ पुग्ने अनुमान सरकारले गरे छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसद्मा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशतले हुने अनुमान गरिएको बताउनु भएको हो ।
चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने पनि उनले जानकारी दिनुभयो । जसमा कृषि क्षेत्रको योगदान २५.१६ प्रतिशत योगदान रहने पौडेलले उल्लेख गर्नुभयो । चालु आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आय १५१७ अमेरिकी डलर पुगेकोसमेत पौडेलले प्रतिनिधिसभाको बैठकमा जानकारी दिनुभएको हो ।
यस्तै सरकारले वैकल्पिक ऊर्जा सहित ९९ प्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुगेको दाबी गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो दाबी गर्नुभएको हो । अर्थ मन्त्रालयले तयार पारेको सर्वेक्षणमा उल्लेख भएअनुसार देशमा हाल कुल जडित विद्युत् क्षमता तीन हजार ६०२ मेगावाट पुगेको छ।