Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

संसद्मा बोल्न नपाएपछि गृहमन्त्रीद्वारा पत्रकार सम्मेलन मार्फत भिजिट भिसा प्रकरणवारे धारणा सार्वजनिक, आफूमाथिको लाञ्छना राजनीतिक आक्रमण भएको जिकिर (खास खबर)

संसद्मा बोल्न नपाएपछि गृहमन्त्रीद्वारा पत्रकार सम्मेलन मार्फत भिजिट भिसा प्रकरणवारे धारणा सार्वजनिक, आफूमाथिको लाञ्छना राजनीतिक आक्रमण भएको जिकिर (खास खबर)

  • बुधवार, जेठ १४ २०८२

  • 524
    SHARES

  • संसद्मा बोल्न नपाएपछि गृहमन्त्रीद्वारा पत्रकार सम्मेलन मार्फत भिजिट भिसा प्रकरणवारे धारणा सार्वजनिक, आफूमाथिको लाञ्छना राजनीतिक आक्रमण भएको जिकिर (खास खबर)

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे आज आफ्नो धारणा सार्वजनिक गर्नुभएको छ । संसद्मार्फत जवाफ दिने तयारि गर्नुभएका गृहमन्त्री लेखकले विपक्षी दलहरुको अवरोधका कारण जवाफ दिन पाउनुभएको छैन । संसद्मा जवाफ दिन नपाउनु भएका गृहमन्त्री लेखकले आज पत्रकार सम्मेलन मार्फत भिजिट भिसा प्रकरणबारे आफ्नो धारणा राख्दै आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्नुभएको छ । गृहमन्त्री लेखकले आफूविरुद्ध राजनीतिक पूर्वाग्रहका आधारमा षड्यन्त्र भएको बताउनुभयो ।

    ‘सबैभन्दा पहिलो जसरी यो विषय (भिजिट भिसा) मा मेरो संलग्नता देखाएर सामाजिक सञ्जालमार्फत धारणा भएका छन् । यो असत्य कुरा हुन्, यो बेठिक कुरा हो । यसमा मेरो कुनै संलग्नता छैन,’ गृहमन्त्री लेखकले भन्नुभएको छ । साथै, उहाँले आफूविरुद्ध नियोजित र षड्यन्त्रपूर्वक ढंगबाट आक्रमण भएको बताउनुभएको छ । गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा अख्तियारको छानवीनमा परेका त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका निर्देशक तीर्थ भट्टराईलाई गृह मन्त्रालयमा आफूले नल्याएको पनि प्रष्ट पार्नुभएको छ ।

    गृहमन्त्री लेखकले भट्टराईलाई आफूले नै गृह मन्त्रालयमा ल्याएर उक्त ठाउँमा पठाएको जस्तो प्रचार गरिएको भन्दै उहाँले विगत ५ वर्षदेखि भट्टराई गृह अन्तर्गत नै रहेको दाबी गर्नुभयो । मन्त्री लेखकले भिजिट भिसा प्रकरणमा जोडिएका सहसचिव भट्टराईलाई अख्तियारले सोधपुछ गरेको कुरा सञ्चारमाध्यमबाट थाहा पाएको बताउँदै उहाँले अख्तियारले गर्ने छानबिनलाई सहयोग गर्ने बताउनुभएको छ ।

    गृहमन्त्री लेखकले प्रश्न उठ्नबित्तिकै राजीनामा दिनुपर्ने थिति बसाल्न नहुने बताउनुहुन्छ । आफूले गर्दै नगरेको अपराधमा मुछ्न खोजिएको गुनासो गृहमन्त्रीको छ । यता, आजै बालुवाटारमा कांग्रेसका शीर्ष नेतृत्वसहित प्रधानमन्त्रीको छलफलले गृहमन्त्रीको राजीनामा असम्भव रहेको निचोड निकालेको छ ।  प्रधानमन्त्रीसँगको छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक साथै एमालेबाट मुख्य सचेतक बर्तौला हुनुहुन्थ्यो ।

    नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले गृहमन्त्री रमेश लेखकलाई प्रतिपक्षी दलहरूले संसद्‍मा बोल्न नदिनुलाई असंसदीय व्यवहार भएको बताउनुहुन्छ । प्रतिपक्षी दलहरूले उठाएकै विषयवस्तुबारे जवाफ दिन गृहमन्त्री लेखक तयार भए पनि प्रतिपक्षी दलहरूले संसद्मा अवरोध सिर्जना गरेर नाकाबन्दी लगाउने काम भएको दाबी मुख्य सचेतक महेश बर्तौलाको छ ।

    यसैगरि, कांग्रेस सांसद अर्जुन नरसिंह केसी प्रतिपक्षीले गृहमन्त्रीलाई संसद्मा बोल्न दिनुपर्नेमा जोड दिनुहुन्छ । आफुमाथि लागेका आरोपको खण्डन गर्न गृहमन्त्रीले पाउनुपर्ने तर्क उहाँको छ ।
    हिजो र आज प्रतिनिधीसभा बैठक अवरुद्ध हुँदा भोलि आउने बजेट भाषण के हुन्छ भन्ने जिज्ञासा पनि सवैमा छ । प्रतिपक्षमा रहेका राजनीतिक दलहरू भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री लेखकको राजीनामा नआउँदासम्म सदन चल्न नदिने अडानमा छन् । तर, बजेटका विषयमा भने सकारात्मक छन् ।

    नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा रहेको प्रमुख प्रतिपक्षी दलका नेता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कपमल दाहाल ‘प्रचण्ड’को च्याम्बरमा बसेको प्रतिपक्षी दलको बैठकले यस्तो निर्णय गरेको हो । उक्त बैठकले बजेटका विषयमा भने सकारात्मक हुने पनि निर्णय गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोलि संसद्मा बजेट प्रस्तुत हुन दिने भएको छ । कार्यबाहक प्रवक्ता मनीष झाले बजेट प्रस्तुत हुँदा अवरोध नगर्ने बताउनुहुन्छ ।

    संवैधानिक व्यवस्था बमोजिम भोलि (१५ जेठमा) प्रस्तुत हुनुपर्ने आर्थिक वर्ष २०८२-०८३ को बजेट प्रस्तुत हुन दिने रास्वपा नेता झाको भनाई छ । विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिषा प्रकरणमाथि छानबीनको माग राखेर संसद् अवरोध गरिरहेका छन् । तर, सरकारले भोलि बस्ने संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने भएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै मंगलबारदेखि सदन अवरुद्ध गरेका विपक्षी दलहरूले बजेट ल्याउन भने दिने भएका हुन्।

    सत्तापक्ष र प्रतिपक्षबीच गृहमन्त्री लेखकबारे सहमति जुट्न नसकेका कारण हिजो र आज प्रतिनिधीसभा अवरुद्ध हुन पुग्यो । अवरुद्ध भएकै कारण गृहमन्त्री लेखकले आज पत्रकार सम्मेलन मार्फत भिजिट भिसा प्रकरणबारे आज आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो ।


    बुधवार, जेठ १४ २०८२०७:५१:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij