काठमाडौं। गृहमन्त्री रमेश लेखक यतिबेला चौतर्फी विवादको घेरामा छन्।भिजिट भिसामा विदेश जानेहरुसँग अध्यागमन कार्यलयले दैनिक लाखौं रकम असुली गर्ने र गृहमन्त्रीलाई बुझाउने गरेको विषय सार्वजनीक भएपछि गृहमन्त्री विवादीत बनेका हुन्।
भिजिट भिसामा खाडी मुलुक जानेहरुबाट ५० हजारसम्म र युरोप जानेहरुबाट तीन लाख रुपैयाँसम्म रकम असुली गर्ने गरेको सुचना पाएपछी केहिदिन अगाडी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थलस्थित अध्यागमन कार्यालयमा छापा मारेर कार्यालय प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएपछी यो विषय सतहमा आएको हो। गृहमन्त्री लेखकले यसअघी नै पटकपटक विवादमा मुछिएका सहसचिव भट्टराईलाई सेटिङमा अध्यागमन कार्यालय पठाएका थिए।
भूकम्पको बेला त्रिपाल काण्ड र रवि लामिछाने गृहमन्त्री हुँदा राष्ट्रिय परिचयपत्रको विवादित ठेक्कामा मुछिएका तीनै सहसचिव भट्टराईसँगै गृह र म्यानपावर कम्पनीको सेटिङमा भिजिट भिसामा विदेश जाने सयौं जनाबाट दिनमै ५० लाख बढी असुली हुने गरेको र त्यो रकम विमानस्थलका कर्मचारीदेखि गृहमन्त्री लेखकसम्मै पुग्ने गरेको उजुरी केहिदिन अघिमात्रै अख्तियारमा परेको थियो।
यसरी भिजिट भिसामा विदेश जानेसँग सङ्गठित रूपमै असुली बढेको सूचना पाएपछी ‘अन्डर कभर अपरेसन’ चलाएर सेटिङको प्रमाण संकलन गरेको अख्तियारले बुधबार कार्यलयमै छापा हानेर अध्यागमन कार्यालय प्रमुख भट्टराईलगायत केही नाइकेहरुसँगै भट्टराईले चलाउने कम्प्युटर, कर्मचारी र तीन एजेन्टका मोबाइलसमेत जफत गरेको छ।
अख्तियारले छापा हान्ने तयारी गरेको थाहा पाउनासाथ उता मंगलबार साँझ मात्रै गृहमन्त्री लेखकले भट्टराईलाई अध्यागमनबाट सरुवा गरेर मन्त्रालय ल्याएका थिए। तर पनि अख्तियारको फन्दाबाट उम्किन नसकेका भट्टराईले यतिबेला अख्तियारको बयानमा सबै कर्तुत ओकल्दै छन् भने गृहमन्त्री लेखक विवादको घेरामा मात्रै छैनन् गृहमन्त्री पद नै धरापमा परेको छ।
विगतमा सहकारी प्रकरणमा मुछिएका तत्कालिन गृहमन्त्री रबी लामिछानेको राजिनामा माग्दै सडकदेखि सदनसम्मै कुर्लिदैं आगो ओकल्दै गरेका लेखक आँफैलाई यतिबेला गृहमन्त्री पद नै घाँटीको रौं जस्तै भारी भएको छ। यो प्रकरण सतहमा आएसँगै सामाजिक सञ्जालसँगै विपक्षी दलदेखी स्वयं कांग्रेसकै शिर्ष नेताहरुले समेत राजिनामाको दवाब बढाएका छन् भने सर्वोच्चमा लेखकको गृहमन्त्री पद खारेज गर्न माग गर्दै रिट परेको छ।
कांग्रेसकै शिर्ष नेता डा.शेखर कोइरालाले समेत लेखकलाई नैतिकताका आधारमा पदबाट राजिनामा दिएर अनुसन्धानमा सहयोग गर्न आग्रह गर्नुभएको छ। विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिएर मार्ग प्रसश्त गर्न उपयुक्त हुने बताउनुभएको हो।
यस्तै सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले पनि यो विषय बहस र अनुसन्धानको विषय भएकोले निश्पक्ष अनुसन्धान हुनुपर्ने बताएको छ। एमालेका सांसद ठाकुर गैरेले व्यक्ति जुनसुकै पद र ओहोदामा भएपनि उमाथी प्रश्न उठेपछी छानबिन गरी कानुनी दायरामा ल्याउनुपर्ने बताउनुभयो।
यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले पनि विगतमा आँफु विपक्षमा हुँदा बोलेका कुरा स्मरण गर्दै लागु गर्नुपर्ने बताएको छ। तत्कालिन गृहमन्त्री रवि लामिछानेमाथी प्रश्न उठेका बेला लेखकले बोलेका कुरातर्फ संकेत गर्दै सांसद माधव सापकोटाले आँफु प्रतिपक्षीमा रहँदा बोलेका कुरा लागु गर्नुपर्ने बताउनुभयो। यद्यपी आरोपबारे गृहमन्त्रीले अहिलेसम्म केही नबोलेकाले गृहमन्त्रीको प्रतिक्रियापछी धारणा तय गरेर आउँदो संसद बैठकमै प्रस्तुत हुने उहाँले बताउनुभयो।
यस्तै उता अर्को विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पनि गृहमन्त्रीको राजिनामा मागेको छ। आज विज्ञप्ती जारी गरेर ‘विगतमा लेखकले नै सदनमा,“प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनु पर्छ’’ भनेर विभिन्न दृष्टान्त सम्झाएको कुरा आज लेखकलाई नै स्मरण गराउँदै यथाशीघ्र पदबाट राजीनामा दिएर निष्पक्ष अनुसन्धानलाई सघाउन माग गरेको छ।
तर उता गृहमन्त्रालय र मन्त्री लेखकले भने आरोप अस्वीकार गरेका छन्। आज साँझ मात्रै गृहमन्त्रालयले विज्ञप्ती नै जारी गरेर घटनासँग मन्त्रालय र नेतृत्वको त्यस्तो कुनैपनि गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा कुनै संलग्नता नरहेको दाबी गरेको छ।
स्वयं लेखकले पनि आफूमाथि नियोजित र षडयन्त्रपूर्वक रुपमा आरोप लगाइएको दाबी गरेका छन्। आरोप पुष्टि भए पदबाट मात्रै नभएर राजनीतिबाटै राजिनामा दिने उनको उद्योष छ। लेखकले आउँदो १३ गते सदनमै जवाफ दिने बताएका छन् ।
गृहमन्त्री पदबाट राजिनामा भने नदिने संकेत गर्दै लेखकले लाखौं कर्मचारी रहेको गृहमन्त्रालयमा कुनै एक कर्मचारीले बदमासी गरेपछी अनुसन्धान थाल्नासाथ मन्त्रीले राजिनामा दिने भन्ने कुरा नहुने जिकिर गरेका छन्।
हुनत नेपालमा मन्त्रीदेखी प्रधानमन्त्रीसम्मै भ्रष्ट्राचारमा मुछिएका र विवादमा तानिएका घटना अचेल सामान्यजस्तै हुन थालेका छन्। किनभने दैनिक रुपमै सार्वजनिक भैरहेका एकपछी अर्को भ्रष्टाचारका काण्ड र प्रकणरण कुनै नकुनै राजनैतिक नेतृत्व समावेश भएको देखिन्छ ।
राज्यको उच्च ओहादामा बसेर पदीय दुरुपयोग गरी विचौलियासँग मिलेपतो गरेर राज्यको ढुकुटि रित्याउने र आम सर्वसाधरणबाट रकम कुम्ल्याउने प्रवृतिले देश आज विकास र समृद्धिबाट पछि परिरहेको मात्रै छैन मुलुकमा गरिबि, बेरोजगारीसँगै युवा पलायन हुँदाहुँदै अन्तराष्ट्रिय जगतमा दुईदुईपटकसम्म ग्रे लिस्टमा समावेश छ।
तसर्थ आँफु प्रतिपक्षीमा हुँदा सत्तापक्षका सांसदहरुमाथी प्रश्न उठ्नासाथ सडकदेखी सदनसम्मै आगो ओकल्दै कुर्लने गृहमन्त्री लेखकले आँफुमाथी प्रश्न उठ्दा पनि नैतिकताका आधारमा पदबाट राजिनामा दिएर निश्पक्ष अनुसन्धानमा सहयोग गर्नुपर्छ ।।