काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री रमेश लेखकले आफ्नो पार्टी जिम्मेवारीका साथ देशका समस्या समाधानमा क्रियाशील रहेको दाबी गर्नुभएको छ । काङ्ग्रेस मोरङले विराटनगरमा आयोजना गरेको कार्यकर्ता भेला एवम् अन्तरक्रियामा उहाँले सबै नेपालीको आस्था र भरोसाको पार्टीले आफूहरूमाथि मुलुकलाई समृद्धितर्फ डोहो¥याउने जिम्मेवारी रहेको बताउनुभयो ।
नेता लेखकले काङ्ग्रेसको नेतृत्वमा निर्माण गरिएको वर्तमान समावेशी संविधानकै कारण देशमा महिला राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश हुन सफल भएको दाबी पनि गर्नुभएको छ । राजनीतिमा वादविवाद, आलोचना, समालोचना, प्रतिवाद हुन्छ भन्दै उहाँले वर्तमान संविधानअनुसार एउटै पार्टीको सरकार निर्माण हुन नसक्नाले गठबन्धन सरकार निर्माण गर्नुबाहेक अन्य विकल्प नरहेको धारणा राख्नुभयो ।
उहाँले प्रतिनिधिसभामा दुईदेखि पाँच वर्षसम्म थातिरहेका पुराना विधेयक पारित हुने अवस्थामा पुगेको जानकारी दिँदै शिक्षा विधेयक आगामी असार १५ गते प्रतिनिधिसभाबाट पारित हुने बताउनु भएको छ । यस्तै संविधान संशोधन गर्न कार्यदल गठन प्रक्रिया अगाडि बढेको बताउँदै गृहमन्त्री लेखकले बढीभन्दा बढी दलको सहमतिको आधारमा संविधान संशोधन गरिने उल्लेख गर्नुभयो ।