काठमाडौं । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रमा जनताको जिउधनको सुरक्षा पहिलो शर्त भएको बताउनु भएको छ । गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशद्वारा आयोजित ‘कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी’को उद्घाटन गर्दै उहाँले सुशासन र समृद्धिका पक्षमा आवश्यक सुरक्षा व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
गृहमन्त्री लेखकले शान्तिसुरक्षा कायम गर्ने सवालमा कसैसँग सम्झौता नगर्ने स्पष्ट गर्दै आपराधिक गतिविधिमा संलग्न जोसुकै भएपनि तिनलाई कानुनी दायरामा ल्याई दण्डित गर्न सुरक्षा निकायलाई निर्देशन समेत दिनुभएको छ ।
मुलुकको संविधान र शासन व्यवस्था विरोधी गतिविधि सह्य नहुने उल्लेख गर्दै उनले तोकिएको कानुनी व्यवस्था कार्यान्वयन गर्नेक्रममा सेवाग्राही जनताको काममा ढिलाइ गर्ने छुट राष्ट्रसेवक कर्मचारीलाई नभएको उहाँको भनाई छ । गृहमन्त्री लेखकले सुमधुर सम्बन्धसहित आमजनतालाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिदैं सीमा क्षेत्रमा हुने चोरी निकासीजस्ता आपराधिक गतिविधिको न्यूनीकरण तथा नियन्त्रणका क्षेत्रमा ३० दिनभित्र अनुभूति हुने किसिमले काम गर्न आग्रह गर्नुभयो ।
देशको रक्षासहित जनताको जिउधनको सुरक्षा गर्ने दायित्व राज्यको भएको उल्लेख गर्दै उहाँले लागू औषधिको कारोबार, आत्महत्या, साइबर अपराध र सवारिसाधन दुर्घटनाको न्यूनीकरण तथा नियन्त्रणका लागि सुशासनमा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।